१२ फागुन,काठमाण्डाै । राष्ट्रपति उम्मेदवारको विषयले सत्ता गठबन्धन नै धरापमा परेको छ । एमाले र माओवादी केन्द्रबीच नै मतभेद भएपछि अहिले गठबन्धन धरापमा परेको हो ।
सत्ता गठबन्धनको भविष्य सकिने कि जोगिने भन्ने बिषय आज दुई अध्यक्ष बीचको संवादले निर्धारण गर्ने छन् । राष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने जनाएका छन् ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको संवादपछि प्रचण्डले आज ओलीसँग संवाद गर्ने हिजै साँझ जानकारी दिएका थिए ।‘छलफल चलिराख्या छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु’राष्ट्रपति उम्मेदवारको बिषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले भनेका थिए ।
आज ओलीसँगको भेटमा सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने भन्ने बिषयमा छलफल हुने बताइएको छ । माओवादी महासचिव देव गुरुङले पनि नेताहरू सहमतिको आधार तय गर्न लागि परेको बताउँछन् ।
नेताहरू लागिरहनु भएको छ सहमतिको आधारमा राष्ट्रपतिको विषय टुङ्गो लाग्छ’ उनले नेपाल प्रेसलाई भने ।पूर्ववत् सहमति अनुसार एमालेले राष्ट्रपति पाउनु पर्ने अडान राखिरहेको छ । तर, उम्मेदवार भने अझै निर्णय गरेको छैन । भोली बिहान सम्म मात्रै उम्मेदवारको निर्णय गर्ने एमालेको तयारी छ ।
१३ गते पदाधिकारीको बैठक मार्फत उम्मेदवारको निर्णय हुन्छ’ एमाले उपाध्यक्ष युवाराज ज्ञवालीले भने । २५ गते हुने निर्वाचनको लागि १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।
आज ओली र प्रचण्ड बिचको वार्ता सकारात्मक भए गठबन्धनमा सहमति जुट्ने नभए गठबन्धन टुट्ने आशङ्का गरिएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्नु अघि प्रचण्ड कांग्रेससँग छलफलमा बस्ने छन् । आजै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् !