२५ माघ,काठमाण्डाै । नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई उक्त हैसियतमा प्राप्त हुने सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले हिजो संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए । रिटमा देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयलाई विपक्षी बनाइएको थियो । सरकारलाई समर्थन गर्ने दलले विपक्षी दलको हैसियत नपाउने रिटमा जिकिर गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेस प्रतिनिधिसभाको विपक्षी बेञ्चमा बसेको छ । यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गरेको दलले प्रमुख प्रतिपक्षी दलको हैसियत नपाउने दाबी गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए । तर,सचिवालयले देउवालाई नै प्रतिपक्ष दलको नेता स्वीकार गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस् !