२२ असोज काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । निवर्तमान प्रतिनिधिसभा सदस्य र पूर्व मन्त्रीसमेत रहेका उनी आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर दलबदल गरेका हुन् ।
बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा टिकटका आकाँक्षी मियाँ गठबन्धनका कारण सो क्षेत्र लोसपाको भागमा नपरेपछि उछिट्टिएर बालकोट पुगेको बताइन्छ । एमालेले टिकट दिने सुनिश्चितता गराउन आज बिहानै बालकोट बोलाएर मियाँलाई पार्टी प्रवेश गराएको हो ।
उनी यसअघि ओली नेतृत्वको क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री थिए । सन् २०१९ मा लात्भियामा भएको स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा भाग लिन गएपछि संसद सचिवालयले छानबिन गर्दै गरेको अवस्थामा उनलाई तत्कालीन नेकपा अध्यक्ष ओलीले मन्त्री नियुक्त गर्नुभएको थियो ।
अहिलेका वनमन्त्री प्रदीप यादव पनि सोही कार्यक्रममा सहभागी भएका थिए । लात्भियाको राजधानी रिगामा भएको स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा उनीहरुले निर्वासित तिब्बती सरकार र संसदका अधिकारीहरुसँग भेट गरेका थिए । मियाँ र यादवले तिब्बती निर्वासित संसदका सभामुख पेमा जुङ्ने र उपसभामुख भेन आचार्य येसी फुन्सोक र केन्द्रीय तिब्बत प्रशासनका प्रमुख लोब्साङ साङ्गेसँग भेटवार्ता गरेका थिए । त्यसबखत उनीहरु राष्ट्रिय जनता पार्टी नेपालका सांसद थिए ।जआ
प्रतिक्रिया दिनुहोस् !