९ असोज काठमाण्डौ । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । गठबन्धनको सीट बाँडफाँडमा असहमति जनाउँदै उनीहरुले सामुहिक राजीनामा घोषणा गरेका हुन् ।
हिजो बसेको जिल्ला समन्वय समितिको बैठकमा पोलिटव्यूरो सदस्य,केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी,प्रदेश सदस्य,जिल्ला संयोजकसहित समितिमा रहेका सबैले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएको निवर्तमान संयोजक डिल्लीराम राई (कमल) द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा निवर्तमान पोलिव्यूरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय भएको बताइएको छ ।
धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारको रुपमा धनकुटेली जनतामा जाने’, विज्ञप्तिमा भनिएको छ,‘हेमराज भण्डारी (सुदर्शन) को प्रस्तावलाई पूर्ण रुपमा समर्थन गर्दै उहाँको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय सार्वजनिक गर्ने जानकारी गराउदँछौ ।’
भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस् !