२० भदौ काठमाण्डौ । नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंहलाई गत स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै अनुशासनको कारबाही गरिएको छ । उनलाई कारबाही गरिएको पत्र आज सार्वजनिक भएको छ ।
सर्लाही–४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सिंहमाथि गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी उम्मेदवारमाथि अन्तर्घात गरेको आरोप लगाइएको छ ।
सिंहलाई पार्टीको जिल्ला अनुशासन समितिले असार २ गते नै निलम्बन गरेको काँग्रेस मधेस प्रदेश कार्यसमिति÷अनुशासन समितिलाई जानकारी गराएको थियो । सो कारबाहीको ब्यहोरा जानकारीको लागि असार ४ गते जिल्ला अनुशासन समितिले प्रदेश समितिलाई पठाइएको पनि पत्रमा उल्लेख छ ।
पत्रमा जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला उपसभापति डा. सरोज कुमारले हस्ताक्षर गरेका छन् । सिंहको निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधि सभाको निर्वाचनको निम्ति महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ ।
प्रतिक्रिया दिनुहोस् !