१९ भदौ काठमाण्डौ । एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका बेलका नगरपालिका ७, गोवाटारका नरबहादुर बस्नेतलाई प्रहरीले सार्वजनिक गरेको छ । बस्नेतले अस्ति शुक्रबार एकै परिवारका तीन जनको हत्या गरेका थिए ।
उनले ३७ वर्षीय राजकुमार बस्नेत, निजकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेतको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । हत्या गरिएका बस्नेतहरु आरोपित बस्नेतकै भाईबुहारी र भतिज नाताका हुन् । निजका हजुरबुबाहरु दाजुभाई रहेको बुझिएको छ ।
घटनापछि भागेका बस्नेतलाई प्रहरीले दिउँसो सवा ४ बजे बेलका नगरपालिका ६ बरबोटे गाउँमा पक्राउ गरेको हो । उनले बिहान साढे ११ बजेतिर हत्या गरेको अनुमान गरिएको छ ।
पत्रकारहरुमाझ एक्लैले हत्या गरेको स्वीकारे पनि प्रहरीले घटनाको गहन अनुसन्धान सुरु गरेको बताइएको छ । अभियुक्त बस्नेतले हत्यामा प्रयोग गरेको दापसहितको खुकुरी र रगत लतपतिएको कपडासमेत दसीका रुपमा बरामद गरेको छ ।
घटनास्थल एकान्तमा भएको कारण प्रहरीले दिउँसो ३ बजेमात्रै खबर पाएको थियो । लगत्तै हत्यारा भाग्न सक्ने सम्भावित ठाउँ घेराबन्दी गर्दै हत्यारा बस्नेतको खोजीबिनमा प्रहरी खटिएको थियो ।
प्रारम्भिक बयानमा बस्नेतले मनोगत रिसइबीका कारण सामान्य विवादमा खुकुरी प्रहार गरी भाइको हत्या गरेको र त्यसपछि एक जना मार्दा पनि उही सजाय भन्दै खेतमा काम गरिरहेकी बुहारी सरिता बस्नेत र भतिजलाई पनि काटेर मारेको बताएका छन् ।
उनीविरुद्ध प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरिरहेको छ भने थप अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेर हिरासतमा राखेको छ ।जनआस्था
प्रतिक्रिया दिनुहोस् !