नेपाल प्रहरीले सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ। नयाँ महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीको कमान्ड सम्हालेपछि सय दिनमा भएका काम कारबाहीवारे पत्रकार सम्मेलनमार्फत हिजो केही विवरण सार्वजनिक भएको छ । सिंहले यसवीच स्थानीय निर्वाचन सम्पन्न गराउनुलाई आफ्नो कार्यकालको ठूलो उपलब्धि भएको बताउनु भएको छ ।
गत वैशाख १९ देखि साउन २५ सम्मको तथ्याङ्क हेर्दा जरिवानाबापत सङ्कलित राजस्व ४४ दशमलव ७१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको पहिलो तीन महिनामा ११ करोड ७९ लाख ९८ हजार ९ सय ५० रुपैयाँ सङ्कलन भएको थियो भने यो वर्ष बढेर १७ करोड ७ लाख ५८ हजार २ सय ६५ रुपैयाँ पुगेको छ। महानिरीक्षक सिंहका अनुसार अघिल्लो वर्षको तुलनामा यो तीन महिनामा १७ प्रतिशत राजस्व बढेको छ।
आपराधिक गतिविधि
<span;>प्रहरीले सार्वजनिक गरेको विवरणमा यो तीन महिनामा आपराधिक गतिविधि बढेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती तीन महिनाको तुलनामा यस वर्ष आपराधिक गतिविधिमा ह्वात्तै बृद्धि भएको तथ्याङ्कले बताउँछ। सय दिनमा १३ हजार १ सय २७ अपराधका घटना दर्ता भएको छ भने प्रधान कार्यालयद्वारा विभिन्न आपराधिक गतिविधिमा संलग्न १६ जना प्रहरीलाई कारबाहीसमेत गरिएको छ ।
अघिल्लो आर्थिक वर्षको तीन महिनामा भन्दा गत तीन महिनामा ३५ दशमलव १ प्रतिशतले अपराध बृद्धि भएको छ। अघिल्लो वर्षको तीन महिनामा देशभर कूल ९ हजार ७ सय १६ अपराधका घटना दर्ता भएका थिए भने यो तीन महिनामा बढेर १३ हजार १ सय २७ पुगेको छ ।
यो वर्षको तीन महिनामा आपराधिक घटनामा बृद्धि हुनुको मुख्य कारण कोभिड-१९ मा कमि आउनु रहेको बताइएको छ। ‘अघिल्लो वर्ष कोभिडका कारण सामाजिक गतिविधिमा कमी आएका कारण आपराधिक घटनामा पनि कमि आएको’,महानिरीक्षक सिंहको विश्लेषण थियो ।
विभिन्न सामाजिक अपराध
अघिल्लो आर्थिक वर्षको तीन महिनामा २ हजार ३ सय २६ वटा ज्यानसम्बन्धी अपराधका घटना दर्ता भएकोमा हाल २ हजार ५ सय २९ पुगेको छ । यो ८ दशमलव ७२ प्रतिशतले बृद्धि हो।
अघिल्लो आर्थिक वर्षको तीन महिनामा ५ सय ३६ रहेको चोरीसम्बन्धी अपराधका घटना यो तीन महिनामा बढेर ८ सय ७० पुगेको छ । यो पनि अघिल्लो वर्षको तुलनामा ६२ दशमलव ३१ प्रतिशतले बढी हो ।
तथ्याङ्कअनुसार सङ्गठित तथा आर्थिक अपराध ९ सय ८० बाट बढेर १ हजार ३ सय ७७ पुगेको छ ।अघिल्लो वर्षको सुरुवाती तीन महिनाको तुलनामा ४० दशमलव ५१ प्रतिशतले यो क्रम बढेको पाइयो । यसरी सामाजिक अपराध १ हजार ६ सय ७२ बाट बढेर २ हजार ५ सय ३९ अर्थात् ५१ दशमलव ८५ प्रतिशत पुगेको छ ।
त्यसै गरी,महिला तथा बालबालिकासम्बन्धी घटना अघिल्लो वर्षको सुरुवाती तीन महिनामा १ हजार ९९ थियो भने हाल बढेर १ हजार २ सय ३४ पुगेको छ । यो तीन महिनामा १२ दशमलव २८ प्रतिशतले बृद्धि भएको स्वयं प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा पाइन्छ ।
सवारी दुर्घटनामा बृद्धि
त्यस्तै सवारी साधन दुर्घटना पनि यो आर्थिक वर्षको सुरुवाती तीन महिनामा बढेको देखिन्छ,अघिल्लो आर्थिक वर्षको तीन महिनामा ४ सय ९४ घटना थिए भने यो सुरुवाती तीन महिनामा ६ सय ६३ वटा सवारी दुर्घटना भएको छ । योचाहिँ अघिल्लो वर्षको तुलनामा ३४ दशमलव २१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सुरुवाती तीन महिनाभन्दा यस वर्षको तीन महिनामा सवारी साधनको कारबाहीबाट ३३ प्रतिशतले राजस्वमा वृद्धि भएको छ।
मुद्दाहरू फर्छ्यौट
महानिरीक्षक सिंहको सय दिनमा अघिल्लो वर्षभन्दा २२ दशमलव २२ प्रतिशतले पेण्डिङ्गमा रहेका मुद्दाहरू फर्छ्यौट भएका छन् । सबैभन्दा धेरै मुद्दा फर्छ्यौट काठमाडौँ भ्यालीमा भएको छ। अघिल्लो वर्षको सुरुवाती तीन महिनामा ३ हजार ६ सय ५८ मुद्दा फर्छ्यौट भएको थियो भने यो तीन महिनामा ४ हजार ४ सय ७१ वटा मुद्दाको छिनोफानो भएको हो ।
लागू औषध तथा अवैध हातहतियार
गाँजा मात्रै अघिल्लो वर्षको तीन महिनामा ३ हजार १ सय १ . ७४ केजी बरामद भएको थियो भने यो तीन महिनामा बढेर ४ हजार १ सय ८१.५८ केजी बरामद भएको छ। अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ७८ प्रतिशतले बढी हो।
चरेश बरामद १८ दशमलव ४४ प्रतिशतले घटेको छ भने हेरोइन ४ हजार २ सय ४० दशमलव ३२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १.५५ केजी बरामद भएको हेरोइन यो तीन महिनामा ६७.२७ केजी बरामद भएको बताइएको छ। अघिल्लो वर्षको तुलनामा लागू औषध खरिद बिक्री र ओसार पसारमा संलग्न १ हजार ५ सय ६६ व्यक्ति समातिएका छन् । अघिल्लो वर्ष १ हजार ४५ जना समातिएका थिए । पोहोरभन्दा यो तीन महिनामा ४९ दशमलव ८९ प्रतिशत बढी हो।
अवैध हातहतियार अघिल्लो आर्थिक वर्षको तीन महिनामा १ सय २ वटा बरामद भएको थियो भने यो तीन महिनामा १ सय १ वटा बरामद भएको बताइएको छ । यो अघिल्लो वर्षको तुलनामा ० दशमलव ९८ प्रतिशतले कम हो । अवैध हातहतियारसँगै अघिल्लो वर्ष ९५ जना पक्राउ परेका थिए,यो तीन महिनामा ९७ जना समातिएका छन्। अघिल्लो वर्षको भन्दा यो २ दशमलव १० प्रतिशतले बढी हो ।
साइबरसम्बन्धी अपराध अघिल्लो वर्षको तीन महिनामा भन्दा यो वर्षको तीन महिनामा ५५ प्रतिशतले बढेको देखिन्छ । अन्तर्राष्ट्रिय प्रहरी समन्वय (इन्टरपोल) बाट ८ जना विरुद्ध रेड कर्नर नोटिस जारी गरिएको छ भने २ जना विरुद्ध एल्लो नोटिस गएको छ।
पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले प्रहरी सङ्गठन कसैको प्रभावमा नपरी काम,कर्तव्यमा तल्लिन रहने बताउनु भयो ।’आफूले नेतृत्व गरेको सङ्गठन पहिला न त कसैको दबाबमा थियो न अब रहन्छ ‘भन्दै ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी तयार रहेको’,समेत उहाँको भनाई छ।
कुनै अमुक पार्टीलाई गुन तिर्न मात्रै सिसिटिभीसम्बन्धी रचित नाटकमा प्रहरी सामेल भएको,प्रहरीको फरेन्सिक ल्याबले सिसिटिभी फुटेज नै रि-कभर गर्न सक्दैन भने औपचारिकताको लागि देखावटी किन गरेको भन्ने प्रश्नमा महानिरीक्षक सिंहले आफू ल्याबको विज्ञ नभएर अनुसन्धानको विज्ञ भएको भन्दै अन्य विषयमा जवाफ दिन चाहनु भएन।जनआस्था
प्रतिक्रिया दिनुहोस् !