२३ साउन काठमाण्डौ । सत्ता गठबन्धन दलहरूले आगामी निर्वाचनमा सिट बाँडफाँडको छलफल थाल्ने भएका छन् । गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठन गरेको पाँचदलीय कार्यदल बैठक आजलाई डाकिएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ ।
बैठकमा सिट बाँडफाँडको मोडालिटीबारे सामान्य छलफल हुने बताइएको छ । पहिले आधार र मापदण्ड निश्चित गरिने र सोही आधारमा छलफल अघि बढ्ने जानकारी पनि दिइएको छ । आजसम्म गठबन्धन दलहरुले आफ्नो पार्टीभित्र समेत सिट बाँडफाँडबारे औपचारिक छलफल नै नगरेकाले तत्काल निर्णय हुने सम्भावना कम छ ।
शुक्रबार बसेको गठबन्धनको शीर्ष नेता सम्मिलित बैठकले सिट बाँडफाँडका लागि सत्ता गठबन्धनका पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले साउन मसान्तभित्र त्यसबारे आवश्यक मोडालिटीसहित सुझाव दिने बताइन्छ ।
कार्यदलमा नेपाली काँग्रेसबाट गगनकुमार थापा,कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा र वर्षमान पुन,नेकपा (एकीकृत समाजवादी) बाट बेदुराम भुसाल र प्रमेश हमाल,जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस् !