चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानछाओसँग एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका प्रचण्डले एक्लाएक्लै वार्तालाप गर्दाको कुराको महत्व त्यतिबेला धुलिसात भयो, जब त्यसलगत्तै प्रचण्ड भारततिर लाग्नुभयो ।
चीनले दिएको महत्वलाई पार्टी र देशहितका पक्षमा हैन, भारतसँगको सौदाबाजीमा प्रयोग गर्ने एउटा नयाँ अभ्यासको थालनी प्रचण्डले गर्नुभयो भन्ने नेपालका कतिपय कम्युनिष्ट नेताको दाबी छ । उहाँ भारतबाट फर्केपछि उत्साहित हुनुभएको माधव नेपालले आफ्नो पार्टीका नेतालाई ब्रिफिङ गर्नुभएको छ ।
तर, उहाँको पार्टीका अरु नेताको बुझाई भने त्यसविपरित छ । चीनले यसबीच माधव, केपी, झलनाथभन्दा बढी पत्याउने पात्र प्रचण्ड हुनुभयो । तर यसचोटि भारतले उहाँलाई नाङ्गेझार बनाएको ती नेताले बताए । अर्थात्, भारतले चीनका हकमा प्रचण्डसँग भेटेर ‘काउण्टर प्रोडक्टिभ’ भूमिका खेलेको छ ।
प्रचण्डलाई प्रधानमन्त्री मोदीले अन्तिम समयमा भेट नदिई घर फर्काएर चीनलाई भनेको छ, ‘तिमीले विश्वासका लागि एक्लाएक्लै कुरा गरे पनि मैले बोलाउनासाथ ऊ कुदेर आउँछ र तिमीसँग भएका सारा कुरा मेरा राष्ट्रिय सुरक्षा सल्लाहकारलाई सुनाउँछ !’ हुन पनि नारायणकाजी, कृष्णबहादुर महरा, पम्फा भुषाल, वर्षमान पुन, देव गुरुङसँगै २ घण्टा कुरा गर्दा पनि ती नेताबाट लुकाउनु पर्ने कुरा के थियो र तिनलाई बाहिर निकालेर छुट्टै ४५ मीनेट गोप्य गर्नलाई ? यो भनेको त भारतका निम्ति पाण्डोरा बक्स हो, के के न उल्कापात भैसक्यो भनेर सशंकित गराउने र आफ्नो महत्व बढाउने !
अब चीन मामिलामा प्रचण्डको स्थिति के होला ? कतिपय माओवादी नेता पनि यसबारे चिन्तित छन् । ०६४ मा प्रधानमन्त्री हुँदा भारतबाटै पहिलो विदेश भ्रमण गर्ने सुरसारका कारण चीनले उहाँलाई दक्षिणपरस्तका रुपमा शंका गरेको थियो । तर, ओलम्पिक गेमको अतिथिका रुपमा प्रचण्डको उत्तरी उडान तय भयो । किनभने, एक साताभित्र राजकीय भ्रमण गराउन सम्भव थिएन ।
एक माओवादी नेताले ओलम्पिक कूटनीतिमार्फत सम्बन्ध सुधार्नेबारे चीन मामिलाका जानकार लीलामणि पौडेललाई सिंहदरबारको पूर्वीगेटमा बोलाएर सुनाएका थिए । चीनका लागि पूर्वराजदूत र तिब्बतमा महावाणिज्यदूतको जिम्मेवारी सम्हालिसकेका लीलामणिले यस्तो कुरा सुनेपछि ‘हो र ?’ भन्दै अचम्म माने ।
लीलामणिले त्यसअघि पुरानो सिनामंगल, पेप्सीकोला बस्ने प्रचण्डका भाइ नारायण दाहालकहाँ आफूलाई राजदूत बनाएर पठाउने गरी रहर पोखिसकेका थिए । त्यसअघि बोआओ फोरममा चीनले प्रचण्डलाई बोलाएको थिएन । लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन प्रचण्डको सक्रियता हुनु भारतको चाहनाअनुसार थियो । जबकि, कांग्रेस सभापति सुशील कोइराला लोकमानलाई सिफारिस नगर्नेमा हुनुहुन्थ्यो । बरु केपी ओली यो मामिलामा प्रचण्डसँग मिल्नुभयो ।
यस्ता मामिलामा बरु शेरबहादुर देउवा प्रष्ट हुनुहुन्छ भनिन्छ । उहाँले कुनै काम ‘गर्छु’ भनेपछि गर्ने गर्नुभएको छ । जस्तो कि, एमसिसी, चुनावी गठबन्धनजस्ता कुरामा जतिसुकै बाधा–विरोध होस्, गराएरै छाड्नुभयो । पहिलो संसद विघटनमा सडकमा नगएकै हो, दोस्रोमा सडकमा गएर पार लगाई छोडेको पनि उहाँले नै हो ।जनआस्था
प्रतिक्रिया दिनुहोस् !