२ साउन काठमाण्डौ । इण्डियन आयल कर्पाेरेसन (आइओसी) ले नेपालमा अस्ति रातिदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको छ । उताबाट नयाँ मूल्यसूची आएको ४८ घण्टा बितिसक्दा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाउने कुनै सुरसार गरेको छैन ।
यसअघि बढेर आएको मूल्यअनुसार समायोजन गर्न आतुर हुने निगम यस पटक चुपचाप बसेको छ । निगमका अनुसार आइओसीले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ । जसमा पेट्रोल प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलको भाउ १६ रूपैयाँ ५६ पैसा घटाएर पठाइएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेपछि इन्धनको मूल्य घटेर आएको हो । तर नेपालमा भने पछिल्लो दर प्राप्त भएपछि मूल्य समायोजनको विषयमा कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
उनका अनुसार पेट्रोलको मूल्य घटेर आए पनि निगम अझै महिनाको ४ अर्ब ३२ करोड घाटामा रहेको छ । एकातिर ऋण तिर्नुपर्ने, अर्कोतिर घाटा निरन्तर रहेकाले तत्काल मूल्य घटाउन नसकिने प्रवक्ता उपाध्यायको भनाइ छ ।
मूल्य घटेर आए पनि अझै निगमलाई डिजेलमा प्रतिलिटर २२ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ घाटा भएको दाबी गरिएको छ । यस्तो अवस्थामा तत्काल पेट्रोलिय पदार्थको मूल्य नघट्ने उपाध्याय बताउँछन् ।
निगमले आइओसीलाई तिर्न बाँकी बक्यौता ३० अर्ब रूपैयाँ छ । पेट्रोलियम पदार्थ खरिद गरे वापत आइओसीले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखका दिन निगमलाई मूल्यसूची पठाउने गर्छ । सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य निर्धारण गर्दै आएको छ । तर, अहिले ठूलो अंकमा पेट्रोलियम पदार्थको भाउ घटेर आएको अवस्थामा निगम र सरकार मूल्य समायोजन नगरी उपभोक्तालाई थप मर्कामा पार्न उद्दत देखिएका हुन् ।जनआस्था
प्रतिक्रिया दिनुहोस् !