२ साउन काठमाण्डौ । सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पैसा असुल्ने नक्कली प्रहरी निरीक्षकसहित अन्य दुई जनालाई प्रहरीले समातेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हनी ट्रयापमा संलग्न गिरोहलाई उपत्यकाको विभिन्न स्थानबाट हिजो पक्राउ गरेको हो । पक्राउ पर्नेमा कल्पना बस्नेत,उनको श्रीमान कृष्णहरी खड्का र प्रहरी निरीक्षक भनिने सन्जय कार्की रहेका छन् ।
उनीहरुले केटीको प्रयोग गरी पुरुषहरुलाई खाजा खाने बहानामा होटल बोलाएर झुठा मुद्दामा फसाइदिन्छु भन्दै पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । पीडितलाई डरधम्की देखाई ठूलो रकम माग्ने र नदिएको खण्डमा नक्कली प्रहरी निरीक्षक खडा गरी हैरानी दिने प्रहरीको भनाइ छ ।
प्रहरीकाअनुसार उनीहरुले पीडितको परिवार र आफन्तलाई सामाजिक सञ्जालमार्फत साथी बनाई प्रहरीमा निवेदन दिएको भन्दै नक्कली निरीक्षकको कुरा राखेको रेकर्ड पठाएर धम्काउने गर्दथे ।
गैरकानूनी धन्दा चलाउँदै आएको खबर प्राप्त भएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो । हाल उनीहरुलाई अपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस् !