२९ असार काठमाण्डौ । आर्थिक र राजनीतिक संकटमा फसेको श्रीलंकाको राजनीतिमा नयाँ मोड आएको छ। यसअघि आज (बुधबार) राजीनामा दिन्छु भनेका राष्ट्रपति गोटवाया राजापाक्षे देश छोडेर भागेका छन्।
सैनिक जहाजमा छिमेकी माल्दिभ्स पुगेका राजापाक्षे उतैबाट प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्।
श्रीलंकाको तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्दनाले बुधबार राजापाक्षेले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ।
प्रदर्शनहरू बढ्दै गएपछि विक्रमासिंघेले यसअघि आफूले राजीनामा दिने बताएका थिए।
विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बन्नुअघि नै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा ठूल्ठूला प्रदर्शन भइरहेका छन्।
प्रदर्शनकारीहरू प्रधानमन्त्रीको कार्यालय जम्मा भएका छन्। उनीहरूले विक्रमासिंघेको राजीनामा मागिरहेका छन्। प्रदर्शनकारीलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो। आफूलाई पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ।
प्रतिक्रिया दिनुहोस् !