२७ असार काठमाण्डौ । नेकपा एमालेले नेपाल प्रहरीका साना हतियार किन्ने सरकारको योजना अघि नबढाउन माग गरेको छ।
प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तै एमालेका सांसद नवराज सिलवालले प्रहरीलाई साना हतियार किन्न ८४ करोड रकमान्तर गर्नु गलत भएको बताए।
उनले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर जानुअघि ८४ करोड रकम प्रहरीलाई हतियार किन्न रकमान्तर गरिएको उल्लेख गरे।
‘८४ करोड बजेट रकमान्तर गरेर हतियार खरिद गर्नु राष्ट्रघात हो। मुलुकको अर्थतन्त्र तहसनहस हुने अवस्थामा छ। शोधानान्तर घाटा २ खर्ब ८८ अर्ब ५० करोड छ’, सिलवालले भने, ‘प्रतिपक्षी दल यो सरकारको यो योजना हतियार किन्ने योजना विरोध गर्दछ।’
उनले बिचौलियासँगको मिलेमतोमा प्रहरीलाई हतियार किन्ने निर्णय भएको बताए।
‘बिचौलियालाई र राजनीतिक शक्तिलाई पैसा चाहिने बित्तिकै हतियारको काण्ड घट्ने गरेका छन्। बिचौलियाले फाइल खडा गर्छन्। नेपाल प्रहरीलाई सदर गरेर माग बनाएर पठाउनुहोस् भनेर षड्यन्त्र गरेर घोटाला गर्ने गरेका छन्’, सिलवालले भने, ‘नेपाल प्रहरीलाई हतियार चाहिने अवस्था छैन। प्रहरीलाई ब्यारेक चाहिएको छ। प्रविधि चाहिएको छ। अनुसन्धानमा योग्य बनाउनुपर्यो। अहिले ११५० थान सट गन र १ हजार थान पेस्तोल प्रहरीलाई चाहिन्नँ।’
उनले नेपाल प्रहरी सशस्त्र प्रहरी अथवा सेना नभएकाले यति धेरै हतियार आवश्यक नपर्ने बताए।
गठबन्धनमा बसेका साथीहरूलाई पैसा र कमिसन चाहिएको छ। पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस पार्ने काम भएको छ। जबकि राष्ट्र बैंकले दर्जन बढी आयातित वस्तुमा प्रतिबन्ध गरेको छ। मारमा रहेको विदेशी मुद्रा सञ्चितीलाई मारमा पार्ने गरी भएको काम राष्टघात हो’, सिलवालले भने, ‘मैले इन्टरनेटमा हेरेँ। अहिले ल्याउने भनिएको हतियारको मूल्य एक तिहाइ पनि पर्दैन। कमिसन २ सयदेखि ३ सय प्रतिशत बढाएर अघि बढाइएको छ। हतियार किन्ने निर्णयबाट फिर्ता होस्।’
प्रतिक्रिया दिनुहोस् !