२७ असार काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा प्रदर्शन हुने भएको छ । आज
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे डाकिएको बैठकमा संस्थापन पक्षलाई दबाब दिने उद्देश्यले शेखर कोइराला समूहले प्रदर्शन गर्न लागेको हो ।
कोइराला पक्षधर नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिले प्रदर्शनमा भाग लिँदैछन् । उनीहरूले ‘भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता हाम्रो सरोकार, नेपाली काँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने मागसहित प्रदर्शन गर्न लागेका हुन् ।
सभापति देउवाले आफू निकटलाई मात्रै भ्रातृ संस्थाको नेतृत्वमा लगेको, गठन भएको कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भङ्ग गरेका भ्रातृ संस्थामा नेतृत्व प्रदान नगरेको आरोप लगाउँदै प्रदर्शन गर्न लागिएको कोइराला पक्षधरले जनाएको छ ।
यसअघि कोइराला समूहको केन्द्रीय समिति भेलाले पाँच बुँदे निष्कर्ष निकाल्दै सभापति देउवा पार्टी र सरकार सञ्चालन गर्न असफल भएको निश्कर्ष निकालेको थियो । कोइराला पक्ष आजको बैठकमा सोही पाँच बुँदालाई अघि सार्दै प्रस्तुत हुने रणनीतिमा लागेको छ ।
प्रतिक्रिया दिनुहोस् !