२५ असार काठमाण्डौ । नेपाल प्रहरीतर्फ रिक्त ३२ जना एसएसपी पदमा हिजो राति बढुवा निकालिएको छ । इन्स्पेक्टर ब्याच नम्बर १११ (०५४ साल) सहित ११२ र तत्कालीन बिशेष प्रहरी (सतर्कता केन्द्र) तथा हालको राष्ट्रिय अनुसन्धान विभागबाट ०५९ सालमा सरुवा भई अहिले एसपीमा रहेकाहरुले भ्याएसम्मको बल प्रयोग गरे पनि ११२ ब्याचका कोही पनि बढुवामा परेनन् ।
तर बढुवामा कसलाई अगाडि तान्ने र कसलाई पछाडि धकेल्ने भन्नेमा गृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे र महानिरीक्षक धिरजप्रताप सिंहबीच राम्रै तानातान भएको बताइन्छ । हिजो गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिको निर्णयानुसार गरिएको बढुवामा गणेश चन्दलाई पहिलो नम्बरमा राखिएको छ । उनी गुप्तचरबाट नेपाल प्रहरी सेवामा आएका हुन् ।
चन्द हालै डिआइजीमा पदोन्नत दुर्गा सिंहका श्रीमान् हुन् । उनीहरु एउटै ब्याचमा छिरेका थिए । श्रीमती सिंह र चन्दले नेपाल प्रहरीमा सँगै तालिम गरेका हुन् । तर अहिले श्रीमती डिआजी भइसकेकी छन् भने श्रीमानको एसएसपीमा बल्ल पदोन्नती भएको छ ।
बढुवा सूचीको दोस्रो नम्बरमा रहेका सिध्दिबिक्रम शाह रौतहटमा विवादास्पद भूमिका निभाएपछि ललितपुर तानिएका एसपी हुन् । उनले स्थानीय पत्रकारलाई लागुऔषध काण्डमा फसाएको पुष्टि भएको थियो ।
अहिले उनैलाई १ नम्बरमा बढुवा गर्न मन्त्री अनिच्छुक बनेको बताइन्छ ।
रौतहटका पत्रकारहरुले गृहमन्त्रीलाई भेटेर यसअघि नै शाहको बारेमा सजगतापूर्वक जानकारी गराएका थिए । नाताले महानिरीक्षक सिंहका सानिमाको छोरा अर्थात भाइ रहेका शाहलाई अहिले १ नम्बरमा उकाल्दा आगामी दिनमा आइजी बनाउन मार्ग प्रशस्त हुन्थ्यो ।
अर्कोतर्फ सुशीलसिंह राठौरलाई १ नम्बरमा बढुवा गराउन खोज्नेमा सचिव र मन्त्री रहेको स्रोतको दाबी छ । तर राठौरको हकमा प्रहरी महानिरीक्षक नै अनिच्छुक देखिए । राजनीतिक रुपमा प्रभावशाली भनेर चिनिएका उमाप्रसाद चतुर्वेदीलाई बढुवा सूचीको ४ नम्बरमा राख्दा राठौरलाई ३ नम्बरमा उकालिएको हो ।
चन्दसँगै शाह,राठौर र चतुर्वेदी सबै राष्ट्रिय अनुसन्धान विभागको सेवाबाट नेपाल प्रहरीमा छिरेका हुन् । राठौरको नामम सचिव पाण्डेको अडान हेर्न लायकको भएको गृहमन्त्रालय स्रोतले बताएको छ । कपिलवस्तुका चतुर्वेदीलाई त्यो बेला खुमबहादुर खड्काको दबाबमा ल्याइएको थियो । अहिले गृहमन्त्री खाँणको दबाबका कारण उनी ४ नम्बरमा अडिन सफल भएका हुन् ।
बढुवाको ५ नम्बरमा दानबहादुर कार्की छन् । त्यसपछिका डा. मनोजकुमार केसीको उपाधी भने विवादमा परेको बताइन्छ । उनले विद्यावारिधी गर्नको लागि प्रहरीमा कहिल्यै बिदा लिएको अभिलेखमा देखिँदैन । भारतबाट विद्यावारिधी गरेका उनको उपाधीलाई त्रिभुवन विश्वविद्यालयले समकक्षताको प्रमाणपत्रसमेत दिएको छैन । तर बढुवाको सूचीमा उनलाई डा. मनोजकुमार केसी भनेर लेखिएको छ ।
नम्बर ७ मा रहेका राजन अधिकारी काँग्रेस ओखलढुंगाका नेता रामहरि खतिवडाको छनौटमा परेका एसपी हुन् । उनको दरबन्दी सिन्धुपाल्चोक भनिएको छ । तर त्यहाँ अहिले रामेश्वर यादव गएका छन् ।
जीवनकुमार श्रेष्ठ (क) १११ ब्याचबाट ८ नम्बरमा आउन सफल भएका छन् भने हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक क्रमशः ९ र १० नम्बरमा परेका छन् । उनीहरु दुवै राष्ट्रिय अनुसन्धान विभागबाट आएका हुन् । अर्का ओमबहादुर राना पनि उतैका हुन् । चितवन,कास्की र बाँके जिल्ला चलाएर ११ नम्बरमा परेका राना माओवादी नेता वर्षमान पुनका खास मान्छेको रुपमा परिचित छन् ।
इन्स्पेक्टर ब्याच १११ का ईश्वर कार्की पनि माओवादी निकट भनेर चिनिन्छन् । यसअघि डिएसपीबाट एसपी हुँदा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका भाइको राम्रै साथ पाएर एसपी बढुवाको २ नम्बरमा उक्लेका थिए । शर्मा मन्त्रीबाट बहिर्गमन भएको भोलिपल्टको बढुवामा भने १२ नम्बरमा झारिएका छन् ।
क्रमश: १३ नम्बरका राजेन्द्र भट्ट,१४ का दिनेशकुमार आचार्य,१५ का अरुण पौडेल,१६ का गोविन्द थपलिया,१७ का माधवप्रसाद श्रेष्ठ सबै १११ ब्याचका इन्स्पेक्टर हुन् । ११० का डिल्लीराज बिष्ट तीन वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त काण्डमा मुछिएर अनाहक निलम्बनमा परेका थिए । उनी वरिष्ठमध्येका एसपी भैकन पनि १८ नम्बरमा धकेलिएका छन् ।
त्यसपछिका मनोजकुमार यादव १९ नम्बरमा छन् । सिरहा घर भएका यादवका बाबु काँग्रेसका जिल्लास्तरीय नेता हुन् । श्रीमती काँग्रेसबाट स्थानीय गाउँपालिकामा जनप्रतिनिधि छन् । यादव यसअघि कपिलवस्तुबाट चार महिनामै लखेटिएका थिए ।
भोजपुरका रेवती ढकाल २० नम्बरमा बढुवा भएका छन् । अनुसन्धान विभागबाट आएका दिपेन्द्र घर्ति क्षेत्री २१ नम्बर र दिपक रेग्मी २२ मा छन् ।
एसपीको जिम्मेवारी निभाउने क्रममा बारामा तीन दिन रक्सी खाएर बेहोस भएका दिलिपसिंह देउवा २३ नम्बरमा बढुवा भएका छन् । उनी पनि अनुसन्धान विभागबाट आएका थिए । त्यहि विभागबाट आएका विनोद घिमिरेलाई उनको पछि राखिएको छ । अहिले रौतहटमा रहेका घिमिरेले उताबाट आएका प्रहरीमध्ये असल मान्छेको परिचय बनाएको बताइन्छ ।
१११ ब्याचका किसनसिंह थापा र सुदर्शनप्रसाद कोइराला क्रमशः २५ र २६ नम्बरमा बढुवा भएका छन् । उताबाट आएका दिपक बस्नेत २७ नम्बरमा,जयराज सापकोटा २८ नम्बरमा छन् । सापकोटाका बुबा पनि मोरंगका काँग्रेस नेता हुन् ।
अनुसन्धान विभागबाट नेपाल प्रहरीको सेवामा आएका सुरेन्द्रबहादुर गुरुङ २९ नम्बरमा बढुवा भएका छन् । उनी पूर्वअञ्चलाधीशको छोरा हुन् । उपत्यका ट्राफिक कार्यालयमा कार्यरत सञ्जिव शर्मा दास (३० नम्बर) रामेछापमा भएको हत्याकाण्डमा संलग्न भएको आरोप लागेपछि निलम्बनमा परेका थिए । तर, त्यसपछि पनि उनी स्वतः बढुवा भए र अहिले एसएसपी बनेका छन् ।
३१ नम्बरमा रहेका लोकेन्द्र श्रेष्ठ १५ दिनका लागि एसएसपी बनेका छन् भने ३२ नम्बरका शारदाप्रसाद चौधरी पनि अनुसन्धान विभागबाट आएका हुन् ।
हिजो रातिको बढुवाले आगामी दिनमा हुने महानिरीक्षकको नियुक्तिमा समेत प्रभाव पार्ने निश्चित छ । आइजीको रोलक्रममा अब यो लटबाट एक जना हुने पक्का छ ।
र १ नम्बरमा रहेका चन्द पहिले नै अवकाशमा पर्नेछन् ।
त्यसपछिका सिध्दिविक्रम,सुशील, चतुर्वेदी अरु एसएपीको भन्दा जागिर एक वर्ष अगाडि भएकाले त्यहि अनुसन्धान विभागको सेवाअवधिलाई जोडेर दौडमा लाग्ने पक्कापक्की छ । त्यसपछिका १११ ब्याचले पनि चर्को प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ । त्यतिबेला ‘ल्याइतेलाई गराउने कि ब्याइतेलाई ?’ भन्ने कुरो उठ्ने पक्का भएको उनीहरुको दाबी छ ।
सिंह,राठौर र चतुर्वेदीमध्येबाट कुनै एक जना नेपाल प्रहरीको आइजी भएमा तिनै गुप्तचरबाट सेवा शुरु गरेर नेपाल प्रहरीमा महानिरीक्षक हुने पहिलो व्यक्ति हुनेछन् । त्यो भनेको डिभी परेर नेपालबाट अमेरिका गएका जो कोही केही वर्षपछि राष्ट्रपति बनेको जस्तै हुने एक जना अवकाशप्राप्त एआइजीले बताए ।जनआस्था
प्रतिक्रिया दिनुहोस् !