२५ असार,बुटवल । नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले हामीले गरेको बिद्रोहको औचित्य पुष्टि भएको बताएका छन् ।
समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले आफ्नो पार्टी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझै नखुलेको बताएका हुन् । ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहांबाट बन्द हुनु ?’
आगामी चुनावमा पाँच दलीय गठबन्धन कायमै रहने तर पार्टी गठबन्धनको मात्रै भर नपर्ने बताए ।
तत्कालीन नेकपा ब्युझाउन सकिन्छ कि भनेर पनि सचिवालयका ९ जना मध्ये ५ जनाको बैठक बसेर छलफल अघि बढाएको समेत नेपालले बताए ।
२०६३ सालमा आफूले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाएको र २०६६ मा उनले आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै नेपालले वामपन्थी दलहरू मिल्दा कांग्रेस आत्तिन नहुने बताए ।
विश्वमा युद्धको कालो बादल मडारिएको र त्यसको बाछिटा एसियातिर पनि आउने चिन्ता बढेकाले नेपाल सजग बन्दै असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारीरुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
नेपाल कुनै पनि शक्ति राष्ट्रसंगको सैन्य गठबन्धनमा सामेल हुन नहुनेमा जोड दिंदै अध्यक्ष नेपालले कुनै पनि सम्झौतामा सहमति जनाउनुअघि सरकार र दलहरु गहिरो अध्ययन गरेर मात्र निर्णयमा पुग्नुपर्नेमा जोड दिए ।
अमेरिकी सहयोग परियोजना एमसीसीको ब्याख्यात्मक घोषणाको कार्यान्वयनबारे सरकारले फलोअप गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस् !