२३ असार काठमाण्डौ । प्रहरी बढुवाले एउटा जटिल मोड लिन थालेपछि दावेदारका अनेक रंग र रुप देखिन थालेको छ । धीरजप्रताप सिंह आइजिपी नियुक्त भएयता एआइजी र डिआइजीसम्मका बढुवा भए । तर, एसपीबाट उकाल्दा भने जटिलता थपिएको छ । २०५८ सालमा तत्कालिन राष्ट्रिय गुप्तचर विभाग (रागुवि) बाट सेवा परिवर्तन भई नेपाल प्रहरीको इन्स्पेक्टरमा प्रवेश गर्नेमध्ये भविष्यमा आइजिपी नै हुने गरी केही एसपी अग्रसर भएपछि कठिनाइ भएको हो ।
रागुविलाई संगठन नै हाँक्ने गरी माथि आउन दिनु हुँदैन भनेर प्रहरीको १११ र ११२ टोली घुँडा धसेर लागिपरेको छ । तर, जति नम्बर घटाउँदा पनि गुप्तचरबाट आएका केही एसपीलाई पछाडि पार्न नसकिँदा बढुवा लम्बिएको बताइन्छ । अहिले २०५३ पुस ५ गते गुप्तचरको अधिकृतमा भर्ना भएर ०५९ मा प्रहरीतिर सारिएका एसपीहरूलाई छेक्न नेपाल प्रहरीतिर २०५४ चैत १८ गते भर्ना भएको १११ र २०५६ मंसिर १४ मा जोडिएको ११२ टोली जोडतोडले लागिपरेको छ ।
२०७४ साउन १९ गते उनीहरू डिएसपीबाट एसपी बढुवा हुँदाको टोलीमा १११ का अधिकृतहरूलाई गुप्तचरका चारजना अधिकृतले थिचेका थिए । पाँचौं नम्बरमा ०५१ का इन्स्पेक्टर गणेश चन्द छिरे । तर, फेरि छैठौंबाट अर्का पाँचजना गुप्तचरको टोलीले १११ लाई थिचिदियो । भनिन्छ, ०७४ को बढुवाताका जनार्दन शर्मा गृहमन्त्री र उनका सल्लाहकार रुकुमकै पूर्वएआइजी सुरेन्द्रबहादुर शाह थिए । एक नम्बरका एसपी सिद्धिविक्रम शाह सुरेन्द्रका भाइ हुन् ।
जसले गर्दा भाइसँगै पूरै भाइ टोली बढुवामा हावी भयो । यसचोटि सरकार कांग्रेसको, गृहमन्त्रालय पनि उसकै छ । तर, कासमुलाई जतिसुकै काँटछाँट गर्दा पनि अघिल्लो बढुवाको वरियता मिच्न मुश्किल परिरहेको गृहस्रोतले जनाएको छ । त्यसमाथि यसचोटि संगठन प्रमुखमात्रै हैन, सिद्धिविक्रम शाह र धीरजकी आमा दिदीबहिनी नै हुन् ।
प्रहरीमा एसएसपीको ३२ सीट खालि छ । पहिले नै बढुवामा छुटेका निर्मला पन्त बलात्कार र हत्याकाण्डका पीडितपात्र डिल्लीराज बिष्टलाई जोड्दा जम्मा संख्या ३४ हुन्छ । त्यसका लागि ०५४ मा भर्ना भएको टोलीभन्दा १६ महिना जुनियर (०५६) को १३ औँ नम्बरमा भूपेन्द्र खत्री छन् । अहिले जसलाई एसएसपीमा अगाडि बढाइन्छ, उनीहरू डिआइजी हुँदा यो बढुवाले ठूलो अर्थ राख्ने कारण प्रहरी नेतृत्वमा कांग्रेसपक्षधरलाई अगाडि बढाउन जोड भइरहेको आरोप छ ।
यसअघि राजेशनाथ बाँस्तोलालाई जति गर्दा पनि डिआइजी बनाउन नसकिएपछि कांग्रेसीबीच कुरा चलिरहेको छ, भूपेन्द्र खत्रीलाई कुनै हालतमा छुटाउन हुँदैन । त्यसका लागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको सहानुभूति रहेको बताइन्छ । त्यसो त प्रहरीमा गुप्तचर टोली छिरेपछि पूर्णबहादुर ०५९ मा गृहमन्त्री भएका हुन् । चाहेको भए उनले त्यसबेला नै केही गर्न सक्थे । तर, चाहेनन् र अहिले उनैलाई गुप्तचरलाई पछाडि पार्ने दुःख आइलागेको छ ।
त्यसका लागि गृहमन्त्री बालकृष्ण खाँणको काँधमा बन्दूक राखेर पड्काइँदैछ । गुप्तचरका १८ भाइलाई छाडेर वा पछाडि पारेर बढुवा गरिँदा १११ टोलीबाट राजन अधिकारी, ईश्वर कार्की, दानबहादुर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्टहरू अगाडि हुनुपर्ने हो । तर, उनीहरू २०६६ मंसिर २६ गतेको बढुवामा इन्स्पेक्टरबाट डिएसपी हुँदैदेखि गुप्तचर र ११२ को फन्दामा पर्दै गए ।
यसचोटि पनि गुप्तचरभन्दा ११२ टोली बलियो भएर आएको छ । किनभने, सरकार कांग्रेसको छ । त्यसमध्ये भूपेन्द्र खत्री सबभन्दा बलिया हुन् । विश्व अधिकारीले सुदूरपश्चिमे (कैलाली) हुनुका कारण दावी गर्ने नै भए । आभूषण तिम्सिना पूर्वका उत्तिकै कडा हुन् । पूर्वआइजी प्रदीपसमशेरका छोरा दीपसमशेर, अहिले कैलालीमा रहेका सोमेन्द्रसिंह राठौर, गृहमन्त्रीको गृह जिल्ला (रुपन्देही) चलाएका रवीन्द्र रेग्मी, पर्सा चलाएका रमेश बस्नेतहरू झन कडा मानिन्छन् ।
गृह प्रवक्ता फणिन्द्रमणिका भाइ विश्वमणि पोखरेल छुट्ने कुरै भएन । ३० वर्षे रहिरहे उनको जागिर अर्को वर्ष भदौ १ सम्ममात्रै छ । पाल्पाली मुकुन्द मरासिनी, काठमाडौं चलाइरहेका दिनेश मैनाली, चितवन चलाइसकेका ओम अधिकारी पनि ११२ कै टोली हुन् । रमाइलो के छ भने, प्रधानमन्त्री पत्नी आरजुसँग भाइटीका लगाउने सानुराम भट्टराई बलिया हुने नै भए ।
१११ टोलीबाट छुट्नेमध्ये रामेश्वर यादव लागु औषधमा मुछिएका छन् भने विमल बस्नेतले बैंकमा घुस पैसा हालेर कारवाही खाएका छन् । लोकेन्द्र श्रेष्ठ साउन ११ गते घर जाने कारण बढुवामा छुट्ने सम्भावना छ । उनले ०४९ सालमा सिपाहीबाट जागिर खाएका हुन् । तर, जसरी घर जाने बेलामा १ दिनका निम्ति बसन्त लामा र बसन्त पन्तलाई के के न बित्ला भनेर एक तह बढुवा दिँदै पठाइयो, छोटै समयका लागि भए पनि लोकेन्द्रलाई एसएसपी दिनुपर्ने कुरा पनि उठिरहेको छ ।
नयाँ आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकन साउन ७ गतेबाट शुरु भएपछि असोज २१ सम्म प्रहरीको बढुवा बन्द हुन्छ । यसकारण बढुवाको चटारो झन बढेको बताइन्छ ।जनआस्था
प्रतिक्रिया दिनुहोस् !