२० असार काठमाण्डौ । आइसिसी विश्वकप लिग-२ अन्तर्गको सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा दोस्रो जित हात पारेको छ ।
नेपालले आइतबार राति सकिएको टी-२० खेलमा स्थानीय ओन्टारियोलाई ५५ रनले हरायो। यसअघि नेपालले शुक्रबार पनि ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २०९ रन जोड्यो ।
नेपालका लागि रोहितकुमकार पौडेलले ३१ बलमा ५ चौका र ५ छक्का हिर्काउँदै नटआउट ७१ रन जोडे ।
दीपेन्द्रसिंह ऐरीले २७ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन जोडे ।
ओपनिङमा आएका पवन सराफले ३७ रन जोड्दा कुशल भुर्तेल २ रनमै आउट भए । देव खनालले २० रन जोडे भने आदिल अन्सारीले नटआउट १० रन बटुले ।
२१० रनको लक्ष्य पछ्याएको ओन्टारियो ३ बल खेल्न बाँकी छदा १५४ रनमा अलआउट भयो ।
उसका लागि बरुण शेहदेवले ५० रन जोडे भने नरेश बुढाऐरले ४१ रनको योगदान गरे। बुढाऐर नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल क्यानडामा बस्दै आएका छन् ।
बलिङमा नेपालका सोमपाल कामीले २ विकेट लिए । करण केसी, किशोर महतो र आदिल अन्सारीले एक एक विकेट लिए ।
नेपालले अब क्यानाडासँग दुई एकदिवसीय खेल खेल्नेछ।
त्यसपछि नेपाली टिम स्कटल्यान्ड जानेछ । त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ।
प्रतिक्रिया दिनुहोस् !