१९ असार काठमाण्डौ । मुगुका सांसद मोहन बानियाँको बलात्कार काण्डको चर्चा सेलाउन नपाउँदै एमालेका अर्का एक नेता परस्त्रीको काखमा लुटपुटिएको भिडियो बाहिरिएको छ । एमाले पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेश सांसद गुलाबजङ्ग शाह र एमालेकै जिल्ला नेतृको अन्तरङ्ग सम्बन्ध झल्किने टिकटक भिडियो सार्वजनिक भएको हो ।
एमाले सल्यान जिल्ला कमिटी सदस्य टिका वलीको आइडीमा अपलोड भएको उक्त भिडियोमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा उनीहरुले सुतेर अभिनय गरेका छन् । भिडियोमा उनीहरु एउटै बेडमा गाला जोडेर पल्टेको देखिन्छ । वलीले शाहको गाला पनि सुम्सुम्याएकी छन् । अहिले त्यो भिडियो टिकटकबाट हटाइसकिएको छ, तर धेरैले डाउनलोड गरेर शेयर गरेका छन् ।
एमाले कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकसमेत रहेका सल्यान प्रदेशसभा (क) बाट निर्वाचित शाह विवाहित हुन् । उनले दोस्रो विवाह गरेपछि जेठी श्रीमती अर्कैसँग हिँडेको बताइन्छ ।
अश्लिल लाग्ने भिडियो सार्वजनिक भएपछि जनआस्थासँगको कुराकानीमा शाहले आफ्नो चरित्रहत्या गर्न सुनियोजित षड्यन्त्र गरिएको दाबी गरेका छन् । आफूले अहिलेसम्म टिकटक नचलाएको र अभिनयसमेत नगरेको उनले बताए । शाहले भने, ‘फेक’ भिडियो बनाएर बाहिर ल्याइयो । चरित्र हत्या गर्ने प्रयास भयो ।
यसबारे कपोलकल्पित समाचार लेख्ने अनलाइनविरुद्ध कानुनी उपचारमा जाने तयारी गरिरहेको समेत उनले बताएका छन् । ‘म संलग्न भएको भिडियो होइन । किन यसरी बाहिर ल्याइयो अचम्म लागेको छ । तर, म आत्तिएको छैन,यस्तो भइरहन्छ’, उनले भने, ‘नेपालका समाचार कस्तो हुन्छ सबैलाई थाहा भएकै कुरा हो । यसबारे सम्बन्धित अनलाइनका सम्पादकसँग कुरा भसकेको छ । उहाँले खण्डन छाप्नुभएन भने कानुनी उपचार खोज्छु ।’
यसअघि एमालेबाट निर्वाचित मुगुका सांसद मोहन बानियाँमाथि जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको होटलमा बोलाएर बलात्कार गरेको अभियोग लागेको थियो । गत माघ १९ गते नेपालगञ्जको होटलमा पैसा लिन बोलाएर बलात्कार गरेको भन्दै माघ २७ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय,बाँकेमा उजुर दिएकी थिइन् ।
फागुन १६ गते सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परे । तर,जिल्ला अदालत बाँकेले चैत २ गते धरौटीमा रिहा गर्न आदेश दिएपछि अहिले उनी निलम्बित सांसद पद फिर्ता पाएर निस्फिक्रीसँग डुलिरहेका छन् । बानियाँ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा केही समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने विना विभागीय मन्त्री थिए ।जनआस्था
प्रतिक्रिया दिनुहोस् !