१९ असार काठमाण्डौ । सशस्त्र प्रहरीको तालिम केन्द्रमा त्यहाँका हाकिमले जवानहरुसँग पैसा उठाउने गरेको घटना सार्वजनिक भएपछि हल्चोक हेडक्वार्टरले त्यसबारे छानविन थालेको छ । विभिन्न सात वटा तालिम केन्द्रमा कायम मुकायम एसएसपीको नेतृत्वमा टोली खटाएर सशस्त्र मुख्यालयले छानविन गर्न लागेको हो ।
त्यसका निम्ति राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी,१९ नम्बर गण हेडक्वार्टर बंगलामुखी काठमाडौँमा एसएसपी सुरेशकुमार श्रेष्ठ र डिएसपी विनोदराज खनाललाई खटाइएको छ भने सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा कायम मुकायम एसएसपी प्रविण कँडेलको नेतृत्वमा डिएसपी सुवर्ण पोखरेल र इन्स्पेक्टर विकास अधिकारीलाई पठाईएको छ ।
कामु एसएसपी विष्णुप्रसाद भट्टको नेतृत्वमा डिएसपी लीला भुजेल र इन्स्पेक्टर नविन अधिकारी रहेको टोली झापास्थित पाथीभरा जवान तालिम शिक्षालयमा खटेका छन् । बडिमालिका जवान तालिम शिक्षालय वनबेहडा कैलालीमा कामु एसएसपी दिग्विजय सुवेदी, डिएसपी हिराबहादुर बोहोरा र इन्स्पेक्टर पुष्पराज शर्मा जाने छन् ।
त्यस्तै,कामु एसएसपी विश्वकुमार भट्टराईको नेतृत्वमा डिएसपीद्वय नविन बोगटी र विष्णु पोखरेल ३९ रिजर्भ गण हेडक्वार्टर बर्दिवास महोत्तरी खटिने छन् भने जवान तालिम शिक्षालय नैबस्ता बाँकेमा कामु एसएसपी निरकृष्ण अधिकारी,डिएसपी मोहनराज विष्ट इन्स्पेक्टर विशाल पाण्डे जाने छन् ।
कामु एसएसपी माधव पौडेलको नेतृत्वमा डिएसपी अरुण शर्मा र इन्स्पेक्टर विकास खतिवडा रहेको टोली हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामपाटन,पोखरा खटिनेछ ।
केही दिनअघि नौबस्तालगायतका तालिम केन्द्रमा हाकिमले जवानहरूबाट ६ हजारसम्म पास आउट खर्च उठाएको उजुरी परेपछि सशस्त्र मुख्यालयले घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न टोली खटाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस् !