१० असार बीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल) मा जारी नगरसभाको ११ औं अधिवेशनमा “औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर” भन्ने नारा सहित वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
मधेश प्रदेशको एक मात्र महानगरपालिकाले आगामी वर्षमा चालु तर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । महानगरले चालुतर्फ ६२.०४ प्रतिशत र पूँजीगततर्फ ३७.९६ प्रतिशत बजेट विनियोजन गरेको हो ।
महानगरपाले चालु आर्थिक वर्षमा तीन अर्ब ५५ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षमा चालु तर्फ १ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ र पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख रुपैयाँ विनियोजित गरेको थियो । यद्दपी यसअघिका जनप्रतिनिधिले पूरा बजेट खर्च गर्न सकेको थिएनन् । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको (वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत ) १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट (वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत ) ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाएको छ । यस्तै क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख आउने अनुमान गरिएको छ । अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोर्ने उपप्रमुख आलमले जानकारी दिए ।महानगरले शिक्षा, युवा तथा खेलकुद सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० हजार, कृषि तर्फ ३ करोड २६ लाख ९० हजार, पूर्वाधार तर्फ १ अर्ब १९ करोड ९३ लाख, सामाजिक विकास तर्फ ९९ करोड ३५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै सूचना प्रविधि र सञ्चारतर्फ १ करोड ५ लाख ९५ हजार, सेवा प्रवाह संगठन सुद्दृढीकरणतर्फ ९३ करोड ५३ लाख २१ हजार, सरसफाई व्यवस्थापनमा ८ करोड ९१ लाख, वन तथा वातावरण र विपद व्यवस्थापनका लागि ५ करोड ९९ लाख, आर्थिक विकासका लागि १० करोड ४२ लाख ९० हजार रुपैयाँ, महिला, बालबालिका तथा जेष्ठ नागरिक र अपांगता, संस्थागत विकास, राजश्व तथा अन्य आय संकलन व्यवस्थापनका लागि पनि बजेटको व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
बजेटमा भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन, सूचना प्रविधि, ज्येष्ठ नागरिक सम्मान जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।
महानगरपालिकाले कृषि योग्य जग्गामा मालपोत बाहेकका सम्पूर्ण कर हटाएको छ, त्यस्तै वीरगञ्जका ग्रामिण क्षेत्रमा कन्या स्कुलको स्थापना, योग तथा आयुर्वेदलाई प्रवर्द्धन गर्न योग केन्द्रको स्थापना, वडा नम्बर १७ देखि ३२ सम्म नक्सा पास नगरी बनाइएको घरको पौष महिना भित्र नक्सा पास गराए दस्तुरमा ५० प्रतिसत छुटको व्यवस्था, महानगर र कृषि सहकारी सञ्चालनसँगको समन्वयमा कृषि उद्यमको व्यवस्था गरेको छ ।
कार्यक्रममा मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् !