३१ जेठ काठमाण्डौ । काठमाडौंको प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीमाथि छानबिन हुने भएको छ।
सुन्धारा कारागारमा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई आइतबार भेट्न गएको घटनामा छानबिन हुने भएको हो।
केसीले बस्नेतलाई भेट्न गएको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।
परिसरले तीन सदस्यीय समिति गठन गरेको छ। मैले पनि भेट्न गएको कुरा थाहा पाएपछि के रहेछ बुझ्नको लागि छानबिन समिति गठन गरेको छु,’ उनले भने,‘उहाँको मनसाय, व्यावसायिक हो कि होइन के हो भनेर एसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।’
छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। प्रतिवेदनको आधारमा कारबाही गर्ने/नगर्ने भन्ने खुल्ने उनले बताए।
समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य आरोपित हुन्। उनी सोही हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा छन्।
आइतबार अर्का एक जना व्यक्तिसँग कारागारमा गएर भेट्न गएको कुरा खुलेपछि प्रहरीले छानबिन अघि बढाउन लागेको हो।
प्रतिक्रिया दिनुहोस् !