ईर्साद अन्सारी
४ मंसिर,बारा । बारा जिल्लाको सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा Gen-Z युवाहरूको प्रदर्शन उग्र बनेपछि तथा थप जनधनको क्षति र परिस्थिति विग्रन नदिन स्थानीय प्रशासनले आज दिउँसो १:०० बजेदेखि वेलुका ८:०० बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र द्वारा जारी गरिएको उक्त आदेशले वीरगंज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटर क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरेको छ।
यो तनाव नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेतको कार्यक्रमको विरोधमा Gen-Z समूहका युवाले प्रदर्शन गर्ने क्रममा हिजो मंसिर ३ गते सिमरा विमानस्थल क्षेत्रमा Gen-Z युवा र एमाले कार्यकर्ताबीच भएको झडप बाट सुरु भएको थियो।
झडपको घटनामा किटानी जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा उपमहानगरपालिका– २ का एमालेबाट निर्वाचित वडाध्यक्ष धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का कैमुद्दिन अन्सारीलाई पक्राउ गरेको छ ।
दुई जिम्मेवार जनप्रतिनिधि पक्राउ परेपनि Gen-Z युवाहरूले आज बिहान ११ बजेदेखि बाराको सिमरामा टायर बालेर प्रदर्शन गरी बाटो अवरुद्ध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दै केही सेल अश्रु ग्यास समेत छोड्नुपरेको थपनी ।
तर भीड उग्र बनेपछि थप धनजनको क्षति हुन नदिन अन्ततः कर्फ्यू आदेश जारी गरिएको हो। तथापि, कर्फ्यूको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सहजीकरण गरिने बिज्ञ्पतीमा उल्लेख छ।









प्रतिक्रिया दिनुहोस् !