ईर्साद अन्सारी
४ मंसिर,बारा । बाराको सिमरामा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत आउने कार्यक्रमको विरोधमा जेनजी समूहका युवाले प्रदर्शन गर्ने क्रममा हिजो बुधबार (मंसिर ३) सिमरा विमानस्थल क्षेत्रमा जेनजी युवा र एमाले कार्यकर्ताबीच गम्भीर झडप भएको थियो।
झडपले उग्र रूप लिँदा जेनजी प्रदर्शनकारीले विमानस्थलको गेट तोडफोड गर्नुका साथै सडक अवरुद्ध गरेका थिए र स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू समेत लगाउनुपरेको थियो।
उक्त झडपको घटनामा किटानी जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा उपमहानगरपालिका– २ का नेकपा एमालेबाट निर्वाचित ४० वर्षीय वडाध्यक्ष धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी लाई पक्राउ गरेको छ।
यद्यपि, दुई जिम्मेवार जनप्रतिनिधि पक्राउ परे पनि त्यसको विरोधमा जेनजी युवाहरूले आज बिहान ११ बजे दृखी बाराको सिमरामा टायर बालेर प्रदर्शन गरिरहेका छन् र बाटो अवरुद्ध रहेको छ। प्रहरीले पक्राउ परेकाहरूको संलग्नताका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !