ईर्साद अन्सारी
३ मंसिर,जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव आजको सभाबाट पारित भएसँगै पदमुक्त भएका छन्।
नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य मण्डलमाथि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झा ले ‘पद अनुकूलको आचारण नगरेको’ भन्दै प्रस्ताव पेश गरेका थिए जसलाई लोसपाका नेताले समर्थन जनाएका थिए।
कुल १०७ सदस्य रहेको प्रदेशसभामा ३ जना निलम्बित हुँदा, निर्णयार्थ पेश गरिएको अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको थियो भने विपक्षमा शून्य मत खसेको थियो, जसबाट दुई तिहाइ बहुमतले प्रस्ताव पारित भएको हो।
उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको बैठकमा सभामुखविरुद्ध ‘मनमानी ढंगले सदन चलाएको, सांसदहरूलाई बोल्न नदिएको र आक्रमण गरेको’ जस्ता आरोपसहित प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ अनुसार प्रस्ताव पेश गरिएको थियो।
विगत २ सातादेखि एमाले एकातिर र अन्य सबै दल अर्कोतिर उभिएपछि प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, केन्द्र सरकारबाट प्रदेश प्रमुख परिवर्तन र मुख्यमन्त्रीविरुद्धको सर्वोच्च अदालतको मुद्दाले गर्दा मधेश प्रदेशको राजनीति अझै पनि अस्तव्यस्त रहेको छ।








प्रतिक्रिया दिनुहोस् !