ईर्साद अन्सारी
३ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटनालाई गम्भीर र संवेदनशील भन्दै सरकारको आवश्यक ध्यानाकर्षण माग गरेको छ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्ने निष्कर्ष निकालेको छ।
रास्वपाका प्रवक्ता मनिष झा ले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, ‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ।
आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं।’
बाराको परवानीपुरमा नेकपा एमालेको कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत लगायतका नेताहरू सिमरा विमानस्थल आउने थाहा पाएपछि ‘जेनजी’ समूहले प्रदर्शन गर्दै अवरोध गरेपछि झडप भएको थियो।
झडपका कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ र जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश समेत जारी गरेको छ। रास्वपाले राजनीतिक दललाई गतिविधि गर्ने स्वतन्त्रता सुनिश्चित गर्न र उक्त संवेदनशील घटनामाथि सरकारले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिएको छ।









प्रतिक्रिया दिनुहोस् !