ईर्साद अन्सारी
३ मंसिर,बारा । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत बाराको परवानीपुरमा नेकपा एमाले बाराले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आउने भएपछि सिमरा विमानस्थल वरपर जेनजी युवाहरूले घेराउ गरी प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले बुद्ध एअरको जहाज अवतरण गर्न नदिने चेतावनी दिएपछि काठमाडौंबाट उड्न लागेको उक्त जहाज रोकिएको छ ।
विमानस्थल वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यही क्रममा सुरक्षालाई मध्यनजर गर्दै र सरकारी तथा निजी सम्पत्तिको क्षति रोक्न जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम जीतपुरसिमरा उपमहानगरपालिका भित्रको गण्डक नहर देखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कसैले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने आदेश प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेका छन् ।
यद्यपि, कर्फ्यूको अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनलाई भने सहजीकरण गरिने प्रशासनले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !