२९कार्तिक,साेलुखुम्बु । सोलुखुम्बुमा नेपाल एयरलाइन्सको फाप्लु–काठमाडौँ उडानमा एकाधिकार जस्तै देखिएको छ र सर्वसाधारणको पहुँच निकै सीमित हुँदै गएको छ।
कार्तिक २९ गते माप्य दूधकोशीका उजिर कार्कीजस्तै धेरै यात्रुले टिकटका लागि फोन गर्दा सधैँ “टिकट छैन” भन्ने जवाफ पाउँछन्, जसका कारण उनीहरू बाध्य भएर सडकमार्ग रोज्न पुग्छन्।
हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार, शनिबार) मात्रै हुने यो उडान अहिले ‘चिनजान’ र पहुँचवाला व्यक्तिका लागि मात्रै सीमित बनेको स्थानीयको गुनासो छ।
सल्लेरीका व्यवसायीहरूका अनुसार सामान्य मानिसले टिकट माग्दा ‘छैन’ भन्ने तर ठूला मान्छेले फोन गरेपछि तुरुन्तै टिकट व्यवस्था हुने गरेको तितो अनुभव छ, जसले गर्दा फाप्लुमा एयरलाइन्सको टिकट पाउन ‘पावर’ नलागिकन लगभग असम्भव भएको अवस्था छ।
स्टेशन इन्चार्जले विदेशी पर्यटकलाई प्राथमिकता दिँदा सामान्य यात्रुलाई समस्या भएको बताए पनि, स्थानीयहरू भने वास्तविकता फरक रहेको र टिकटभन्दा पहिला ‘पावर’ र पहुँचवाला आफन्त गुहार्नुपर्ने साझा गुनासो गर्छन्।
सगरमाथाको प्रवेशद्वार तथा पर्यटनको आधार मानिने सोलुखुम्बुमा हवाई टिकट जस्तो आधारभूत सेवा पाउन पनि ‘पावर’को आवश्यकता पर्नुलाई नागरिकहरूले प्रशासनिक कमजोरी मात्र नभई सरकारले सम्बोधन गर्नुपर्ने गम्भीर नागरिक समस्याको रूपमा लिएका छन्।









प्रतिक्रिया दिनुहोस् !