२२कार्तिक,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशसभा बैठकमा नाटकीय ढंगले आफ्नो राजीनामा घोषणा गरेका छन् ।
उनले विश्वासको मत लिनका लागि समय लिएका थिए, तर अन्तिम क्षणमा आवश्यक मत प्राप्त गर्न नसक्ने निश्चित भएपछि उनले राजीनामा घोषणा गर्न पुगे । यो कदम मधेश प्रदेशको राजनीतिक वृत्तमा अप्रत्याशित मोड का रूपमा देखिएको छ ।
गत असोज २९ गते गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका सोनलले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम आज (२२ कात्तिक २०८२, शनिबार) प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो । तर, प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुअघि नै उनले आफ्नो राजीनामा घोषणा गरे ।
सत्ता गठबन्धनभित्रै विश्वासको मतमा गडबडी आएको र प्रमुख प्रतिपक्षी दलहरू (नेपाली कांग्रेस र नेकपा एमाले) विपक्षमा रहेकाले उनको पक्षमा बहुमत पुग्न नसक्ने अवस्था बनेपछि उनले बाध्यात्मक रूपमा राजीनामाको घोषणा गरेको विश्लेषण गरिएको छ ।
यस घोषणासँगै मधेश प्रदेशको राजनीतिमा पुनः अस्थिरता सुरु भएको छ र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने अवस्था सिर्जना भएको छ ।









प्रतिक्रिया दिनुहोस् !