२२ कार्तिक,काठमाण्डाैं । नेपाली कांग्रेसका पूर्वमन्त्री एवं पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको हो।
उनको केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार दुई साताअघि अस्पताल भर्ना गरिएका आलमलाई सिधै आईसीयुमा राखेर उपचार गरिएको थियो र अवस्था जटिल बनेपछि भेन्टिलेटरमा सारिएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार मिर्गौला फेल भएपछि उनको निरन्तर डायलाइसिस भइरहेको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो र त्यसको दीर्घकालीन असरका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका छन्।
ब्रेन स्ट्रोक भएपछि उनले माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल र त्यसपछि भारतमा समेत उपचार गराएका थिए। आलम रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको मुद्दामा जोडिएका थिए।
जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको फैसला सुनाए पनि पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए, जसको लगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो।









प्रतिक्रिया दिनुहोस् !