२० कार्तिक,बारा । प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रले जिल्ला प्रशासन कार्यालय बाराका नवआगन्तुक प्रमुखको रूपमा सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै आफू सुशासन कायम गर्न आएको र राष्ट्र सेवकका रूपमा रहने बताएका छन्।
उनले मातहतका कार्यालयहरूमा परिवर्तन आफैबाट सुरु गरी जिल्लाका सबै कार्यालयलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे। खुला सिमानाका चुनौतीहरूबारे चर्चा गर्दै सीडीओ मिश्रले चोरी निकासी पैठारी रोक्ने, गैरकानुनी कार्यहरू नियन्त्रण गर्ने र सीमा वारपार हुने अवैध गतिविधिहरूलाई नियन्त्रण गर्ने घोषणा गरे।
उनले जेन्जी पुस्ताको भावनालाई बुझेर उनीहरूको मुद्दालाई प्राथमिकता दिने र गृह मन्त्रालयबाट आएको ६२ बुँदे निर्देशन कार्यान्वयन गर्ने बताए।
सार्वजनिक कार्यक्रमहरूमा माला खादा लगाउनुभन्दा काममा जोड दिने धारणा राख्दै उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न निर्देशन दिए, किनभने मनोबल गिराए जिल्लाकै मनोबल गिर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, सिकेन्द्र पासवान, पन्नालाल दास, उपेन्द्र ठाकुर, अनिल तिवारी लगायतका सञ्चारकर्मीहरूले बाराका समग्र सुरक्षा चुनौतीका विषयमा आफ्ना सुझावहरू राखेका थिए।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरीका सप्रउ खुम केसी लगायतका सुरक्षा अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।









प्रतिक्रिया दिनुहोस् !