१८कार्तिक,बुटवल । भैरहवास्थित होटल निर्वाणामा सोमबार राति १ बजे गोली चलेको छ, जसमा होटलका सुरक्षा गार्ड बुटवल उपमहानगरपालिका वडा नं. १५ का २७ वर्षीय मीन बहादुर परियार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले घटनाको पुष्टि गर्दै परियारको खुट्टाको तिघ्रामा गोली लागेको र उनलाई उपचारका लागि भीम अस्पताल लगिएकोमा हाल डिस्चार्ज भइसकेको जानकारी दिएका छन्।
घाइते परियारले प्रहरीलाई दिएको बयानअनुसार होटल अगाडि केही व्यक्तिहरूबीच वादविवाद चलिरहेको बेला एउटा समूह होटलमा प्रवेश गर्न खोज्दा सुरक्षा गार्डले रोकेपछि अपरिचित व्यक्तिले पेस्तोल निकाली आफूमाथि गोली प्रहार गरेको बताएका छन्।
गोली प्रहार गर्ने व्यक्ति होटलमा क्यासिनो खेल्न आउने भारतीय नागरिक भएको अनुमान गरिएको छ। प्रहरी उपरीक्षक क्षेत्रीले गोली प्रहार गर्ने व्यक्तिको खोजीका लागि अहिले नेपाल र भारतको सीमा क्षेत्र बेलहिया आसपासमा चेकजाँचलाई कडाइ गरिएको र राति नै भारतीय समकक्षीसँग समन्वय गरी भारत प्रवेश र नेपाल प्रवेशमा कडाइ गरे पनि आरोपित व्यक्ति भने अहिलेसम्म फेला पर्न नसकेको बताएका छन्।









प्रतिक्रिया दिनुहोस् !