१८ कार्तिक,कपिलबस्तु । तीन वर्षदेखि लिभिङ टुगेदरमा रहेकी ४० वर्षीया प्रेमिकाको हत्या प्रयास गरेको अभियोगमा भारतको उत्तर प्रदेशका ३५ वर्षीय हफिजूल्लाह मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, पारिवारिक सम्बन्ध बिगारेको बदला लिन मुसलमानले कोर्ट म्यारिज गर्ने बहानामा प्रेमिकालाई चन्द्रौटा बोलाएर हत्याको योजना बनाएका थिए, जसमा उनले प्रेमिकाको हत्या गर्नका लागि एक लाख भारतीय रुपैयाँमा सुपारी दिएर भाडाका व्यक्तिहरू समेत परिचालन गरेको पाइएको छ।
गत कात्तिक १५ गते योजनाबद्ध रूपमा हत्या गर्न भाडामा लिएका व्यक्तिहरूसहित एउटै कार (यूपी ५५ एबी ६९७९) मा चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै गर्दा लौसा गाउँ नजिक मुसलमानले नाइलनको डोरीले प्रेमिकाको घाँटी कसेर हत्या गर्ने प्रयास गरे, तर महिलाले प्रतिकार गर्दा उनको खुट्टा कारको स्टेरिङमा ठोक्किएपछि सवारी अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको ट्रक (ना १ ख ४९५०) सँग ठोक्किएर दुर्घटना हुँदा फिल्मी शैलीमा घटना असफल भयो। दुर्घटनापछि महिलाले चिच्याएर गुहार मागेपछि ट्रक चालक र सहचालकले मुसलमानलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरी पीडित महिलाको उद्धार गरी अस्पताल पठाएका थिए ।
प्रहरी अनुसन्धानबाट गत असोज ३१ गते महिलाले मुसलमानको मोबाइलबाट दुवैको तस्वीर उनकी श्रीमतीको मोबाइलमा पठाएपछि उनको पारिवारिक सम्बन्ध बिग्रिएकोले बदला स्वरूप हत्या गर्ने योजना बनाएको खुलेको छ।
प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार, ‘परिवार बिगारेको आरोपमा उनले कोर्ट म्यारिज गर्ने बहानामा प्रेमिकालाई बोलाएको देखिन्छ।
‘ प्रहरीले घटनास्थलबाट नाइलन डोरी, गम्छा र केही भारतीय समाचार च्यानलको नाम लेखिएको माइक (बुम) बरामद गरेको छ, जसले गर्दा मुसलमान सञ्चारकर्मी हुनसक्ने आशंका प्रहरीले गरेको छ।
पीडित महिलाको जाहेरीका आधारमा मुसलमानलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ भने, घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी जारी रहेको बताइएको छ।









प्रतिक्रिया दिनुहोस् !