१५ कार्तिक,दमक, । नेकपा (एमाले) ले आज झापाको दमकमा आफ्ना २३ वटा जनसंगठनहरूको सहभागितामा वृहत् मोटरसाइकल र्याली आयोजना गरेको छ। एमाले दमक नगर कमिटीको आयोजनामा भएको यो र्याली संविधानको संरक्षण, संसद् पुनर्स्थापनालगायतका प्रमुख मागहरू राख्दै निकालिएको हो।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा आयोजित यस प्रदर्शनमा युवा, महिला, सर्वसाधारण, पार्टी कार्यकर्ता र नेताहरूले वर्षाको समेत प्रवाह नगरी ठूलो संख्यामा सहभागिता जनाएका थिए।
दमक-५ स्थित गोरर्खा डिपाटमेन्ट स्टोरबाट सुरु भएको र्याली दमक-८ को सेतुमारी हाइवे रोड, पखेटे चोक, दमक-२ को आम्दा रोड, मदन डाँगी सडक, फागुनन्द चोक हुँदै दमकको गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो।
एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको काम गलत बाटोमा गएको र मुलुक नै खतराको भुमरीमा परेको बताए। उनले संसद् पुनर्स्थापना गरेर मात्र मुलुकलाई उचित दिशामा ल्याउन सकिने भन्दै सांकेतिक रूपमा यो आवाज मोटरसाइकल र्यालीमार्फत उठाएको स्पष्ट पारे।
गणतन्त्र चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशील राईले अहिलेको सुशीला कार्की नेतृत्वको सरकारले कैदीबन्दी फरार रहेको, शान्ति सुरक्षा नभएको, लुटिएका हतियारहरू नआइसकेको र चुनाव हुने वातावरण नभएकाले एमालेले संसद् पुनर्स्थापनाको माग उठाएको बताए। उनले यदि अहिलेको सरकारले चुनाव हुने वातावरण सिर्जना गरे एमाले चुनावबाट कुनै पनि हालतमा नभाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।









प्रतिक्रिया दिनुहोस् !