पर्साको वीरगंजस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बहुदरमाई नपा–४ का महेन्द्रप्रसाद यादवको शव फ्रीजमा राखिएको दर्दनाक घटना ले स्वास्थ्य सेवा अब सेवा नभई विशुद्ध नाफामुखी व्यापार बनेको डरलाग्दो यथार्थ उदाङ्गो पारेको छ।
सवारी दुर्घटनामा घाइते भएका यादवको उपचारमा लागेको नौ लाख रुपैयाँमध्ये परिवारले जम्मा दुई लाख मात्रै जम्मा गर्न सकेका छन्, तर आर्थिक रूपमा अत्यन्त कमजोर रहेको परिवारसँग बाँकी सात लाख तिर्ने कुनै उपाय छैन।
अस्पताल प्रशासनले ‘कानूनी’ मन्जुरीनामाको हवाला दिँदै पैसा नतिरेसम्म शव फिर्ता नदिने अमानवीय अडान लिएको छ, जसले मृतकको अन्तिम संस्कार गर्ने परिवारको नैसर्गिक अधिकारलाई बन्धक बनाएको छ। यो प्रवृत्तिले अस्पतालहरूले बिरामीको ज्यान र मृत्युलाई केवल ‘बिल’ सँग जोडेर निर्लज्ज ब्ल्याकमेलिङ गरिरहेको देखाउँछ।
नेपालमा निजी अस्पतालहरूले नियमनको अभावमा खुलेआम लुट मच्चाएका छन् र सरकारी अस्पतालको उपेक्षाका कारण गरिब नागरिकहरू महँगा निजी अस्पतालको मुख ताक्न बाध्य छन्।
यो घटना चरम स्वास्थ्य प्रणालीगत विफलता को सूचक हो, जहाँ सरकार ‘चिर निन्द्रा’ मा सुतेका कारण ‘मानवता हराएको’ देश बन्दैछ।
राज्यले तत्काल हस्तक्षेप गरी शव परिवारलाई बुझाउने र क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्छ, साथै स्वास्थ्य सेवालाई व्यापार होइन, सेवामूलक बनाउने गरी कडा कानून र नियमन ल्याएर शव वा बिरामी बन्धक बनाउने अमानवीय कार्यलाई सदाका लागि अन्त्य गर्नुपर्छ।









प्रतिक्रिया दिनुहोस् !