१४ कार्तिक,काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, राजनीतिक स्थायित्व र नयाँ राजनीतिक सहकार्यको आवश्यकता महसुस गर्दै आज काठमाडौंको बालुवाटारस्थित एक होटलमा ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ।
जेनजी आन्दोलनको मर्म र भावना अनुसार देशमा नयाँ राजनीतिक विकल्पको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको यो संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले लगायत नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक, अभियन्ता र युवा पुस्ताका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
रास्वपा उपसभापति वाग्लेका अनुसार, नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक र नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच समयमै सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावना को यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पहरूमाथि खुला छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको हो।
यो वृहत् राजनीतिक संवादले मुख्यतया तीनवटा उद्देश्य राखेको छ:
१. आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ निर्माण गर्ने।
२. लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने।
३. उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यता खोज्ने।
रास्वपाको यो पहल वर्तमान राजनीतिक गतिरोध र पुरानो राजनीतिक शैलीप्रतिको वितृष्णाका बीच एउटै सोच र शैली भएका व्यक्ति तथा समूहहरूलाई एक ठाउँमा ल्याएर दीर्घकालीन रूपान्तरणका लागि वृहत् राजनीतिक गठबन्धन निर्माण गर्ने गृहकार्यका रूपमा देखिएको छ, जसले नेपाली राजनीतिमा एउटा नयाँ मोड ल्याउन सक्ने सम्भावना बोकेको छ।









प्रतिक्रिया दिनुहोस् !