८ कार्तिक,काठमाण्डाैं । गृह मन्त्रालयले सरकार आसन्न निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ। मन्त्रालयले सबैका जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ।
मन्त्रालयले भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गरी शान्ति सुुरक्षाको अवस्था सामान्य बनाइएको र निर्वाचन केन्द्रित वातावरण बन्दै गएको जानकारी दिएको छ।
फागुन २१ मा निर्वाचन सम्पन्न गर्न सरकारको तयारी
जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकार आगामी फागुन २१ मा तय भएको निर्वाचन सम्पन्न गर्न लागिपरेको मन्त्रालयले स्पष्ट पारेको छ। सोही अनुसार सरकारले निर्वाचन सम्बन्धी कानुनमा संशोधन, स्रोत र साधानको व्यवस्थापनका साथै राजनीतिक दलहरू एवं सरोकारवालासँग वार्ता र संवाद गरिरहेको जनाइएको छ।
आन्दोलनमा घुसपैठ र अराजकता निम्तिनेतर्फ सचेत गराउँदै
सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति समूहले धर्ना, जुलुस, प्रदर्शन लगायतका कार्यक्रमहरू सार्वजनिक गरेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अराजकता निम्तिनेतर्फ आयोजकहरू नै सचेत हुनुपर्नेमा मन्त्रालयले जोड दिएको छ।
शनिबार जारी गरिएको विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतको हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिइ मुलुकमा साम्प्रादायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ।’









प्रतिक्रिया दिनुहोस् !