७ कार्तिक,जनकपुरधाम । मधेश प्रदेशमा छठको धार्मिक रौनकबीच राजनीतिक सरगर्मी तीव्र भएको छ, जसको केन्द्रमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको विश्वासको मत रहेको छ। असोज २९ गते नियुक्त भएका सोनलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण सत्तापक्ष र प्रतिपक्ष दलहरू चाडपर्वमा पनि राजनीतिक भेटघाट तथा संवादमा व्यस्त छन्।
कांग्रेस सांसद अंजना पंडितका अनुसार मुख्यमन्त्रीको तयारी र दलहरूको संवाद स्वाभाविक छ। सोनललाई हाल जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीसहित पाँच दलको समर्थन छ, जसको कुल सांसद संख्या ५७ पुग्छ। १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ।
तर, जनमत पार्टीका दुई सांसद निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत फुटेर बनेको जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन्, जसको आधिकारिता सर्वोच्च अदालतले रोकिदिएको छ; यद्यपि अदालतको अन्तिम निर्णय नआउँदासम्म उनीहरूलाई जनमत पार्टीकै ह्वीप लाग्नेछ।
यसैगरी, जसपाका एक सांसद सरोज सिंह कुशवहा निलम्बनमा रहेकाले मत दिन पाउने छैनन्। यदि जनस्वराज पार्टीमा सनाखत गरेका दुई सांसदले मत नदिएमा सोनलको पक्षमा मत ५४ मा झर्नेछ, जसले बहुमतको संख्यालाई ठ्याक्कै छुन्छ।
यही संवेदशील गणितका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेपाल संघीय समाजवादी पार्टीका एक/एक गरी तीन जना साना दलका सांसदहरू निर्णायक बनेका छन्, जसलाई आफ्नो पक्षमा तान्न सत्तापक्ष र विपक्षी गठबन्धन (नेपाली कांग्रेस र नेकपा एमाले) दुवैले तीव्र प्रयास गरिरहेका छन्।
साना दलका यी तीन सांसदको समर्थन वा अनुपस्थितिले सोनलको सरकारको भविष्य निर्धारण गर्ने भएकाले मुख्यमन्त्री सोनल स्वयम संवादमा सक्रिय छन् र जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई विश्वासको मत दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। सोनल निकट श्राेतले विश्वासको मतका लागि समस्या नहुने दाबी गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !