५ कार्तिक,बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६, सूर्यपुराघाटमा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार तीन जना युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर १ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।
दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो करिब ३ बजे उनीहरू मूर्ति सेलाउन पुगेका थिए। सोही क्रममा उनीहरू डुबेका हुन्।
बेपत्ता भएको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयवासीले खोजी सुरु गरेका थिए। खोजी गर्दा उनीहरूको शव करिब २०० मिटर तल फेला परेको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए।
तिहारको बेला गाउँका तीन युवाको डुबेर मृत्यु भएपछि सूर्यपुरा र मायादेवी गाउँ शोकमा डुबेको स्थानीय सन्दीप गुप्ताले बताए। सोही घाटमा छठ पर्वको तयारी पनि सुरु भइसकेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !