ईर्साद अन्सारी
५ कात्तिक,काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई भयरहित ढंगले सम्पन्न गराउन सरकार कटिबद्ध रहेको बताएकी छिन्। उनले यस ऐतिहासिक दायित्वमा सहकार्यका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायलाई अपिल गरेकी छिन्।
नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले भनिन्, ‘लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ।’
उनले ‘नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व’ सरकारसँग रहेको उल्लेख गर्दै यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताइन्। उनले थपिन्, ‘आउनुहोस्, यसमा सहकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौं।’ उनले सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको पनि जानकारी दिइन्।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय विभूति शंखधर साख्वाःले देखाएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना समेत व्यक्त गरिन्। नेपाल संवत्को प्रवर्तनको इतिहासलाई स्मरण गर्दै उनले भनिन्, ‘११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधरले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो।’
उनले शंखधर साख्वाःको व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सकिए मात्र राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने प्रेरणादायी सन्देश आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्।
शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको थियो।









प्रतिक्रिया दिनुहोस् !