२९ जेठ काठमाडौं । नेपाल प्रहरीमा एआईजीको बढुवा लगत्तै हुनुपर्ने डीआइजी र एसएसपी बढुवामा बिलम्ब भइरहेको छ । बढुवाको लागि गृहमन्त्रालय र बालुवाटारको कुरा नमिलेकै कारण बिलम्ब भइरहेको स्रोत बताउँछ । एसएसपीबाट डीआइजीमा बढुवाका लागि जति चर्को दौड र दबाब छ, एसपीबाट एसएसपी बढुवामा पनि उस्तै चलखेल भइरहेको छ । अहिले १६ एसएसपी रिक्त छन् । १७ एसएसपी डीआइजी बढुवा भएपछि ३३ एसएसपीका पद रिक्त हुनेछन् । ३३ एसएसपी पदका लागि २०५३ का इन्स्पेक्टरको टोलीबाट ११ जना छन् भने २०५४ मा प्रवेश गरेका २३ जना एसपीहरु दाबेदार छन् । यी दुई टोलीबाहेक २०७५ मा भर्ना भएका एसपीहरु पनि जम्प हान्ने दाउमा शक्तिकेन्द्रमा चक्कर काटिरहेका छन् । एसएसपी बढुवाका दाबेदार एसपीहरुमा दिल्लीराज बिष्ट, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ र विमल बस्नेत छन् । यीमध्ये दिल्लीराज बिष्ट बाहेक अरु सबै एसपीहरु राष्ट्रिय अनुसन्धानमा निवेदन पेश गरी जागिरमा प्रवेश गरेका र जस्केलाबाट नेपाल प्रहरीमा छिरेका हुन् । यो टोली २०५३ मा प्रहरी निरीक्षक(इन्स्पेक्टर, २०६४ मा डीएसपी र २०७४ मा एसपी भएको हो । अर्को २०५४ मा इन्स्पेक्टरमा भएको टोली छ । एसपीहरुको यो टोलीमा राजन अधिकारी, इश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव छन् ।
त्यसैगरी, एसपीहरु किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र जीसी, रामेश्वरप्रसाद यादव, दिलीपसिंह देउवा र संजीव शर्मा दास छन् । यीमध्ये मनोजकुमार यादव, विनोद घिमिरे, जयराम सापकोटा र रामेश्वरप्रसाद यादव राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका हुन् । यो टोली २०६६ मा डीएसपी र २०७४ मा एसपी भएको हो । एसएसपीका लागि यी दुई टोलीबाट मात्र बढुवा भए १ जनाबाहेक सबै एसपीको बढुवा हुनेछ । तर यिनीहरुको २ टोलीलाई पनि पछि पारेर जम्प हान्न २०७५ जेठ २९ मा भर्ना भएका विश्व अधिकारी, सानुराम भट्टराई, ओम अधिकारीहरुको टोली लागेको छ । विशेष गरी २ टोलीलाई जम्प हान्ने चलखेलमा सानुराम भट्टराई लागेका छन् । सानुराम भट्टराईको पहुँच गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मन्जु खाँणसँग भएकाले उनी झापाबाट त्रिपुरेश्वरको दंगागणमा सरुवा भएको केही दिनमै काठमाडौं प्रहरी परिसरको मुद्दाको एसपीमा काज सरुवा मिलाएका थिए । तर बालुवाटारले उनको काज रोकेको थियो । हालका काठमाडौंका एसएसपी सुदीप गिरी र सानुराम भट्टराई जनकपुरमा सँगै कार्यरत हुँदा मन्जु खाँणसँग तिहारमा टिका लगाएको नाता जोडेर उनी जम्प हान्ने दाउमा छन् ।
२०७५ को टोलीका ओम अधिकारी पनि जम्प हान्ने खेलमा लागेका छन् । उनी चितवनमा घुमुवा राखेरै असुलीमा विवादमा परेका थिए ।
विश्व अधिकारी कैलालीबाट काम गर्न नसकी तानिएका हुन भने मोरङमा हुँदा पनि एउटा काण्डमा उनी समय नपुगी सरुवा भएका थिए ।
एसपी राजन अधिकारीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बोकेर हिंडेका छन् । एसएसपी बढुवामा पहिलो नम्बरमा पारिदिने आश्वासनसहित उनले गृहमन्त्री खाँणसम्म लगेर सेटिङ गरिसकेकाले उनी ढुक्क जस्तै छन् । एसपी अधिकारीमाथि गएको बर्ष मेलम्ची नदीमा आएको बाढी आएको समयमा बाढीपीडितको उद्धारमा भन्दा पनि प्राकृतिक स्रोत नदीजन्य पदार्थ दोहन गर्ने क्रसर माफियाहरुसँग लाभ लिनतिर लागेको आरोप लागेको थियो । उनले बर्षातको समयमा पनि इन्द्रावती खोलाबाट ठूलो मात्रामा बालुवा निकाल्न छुट दिएर क्रसरवालासँग लाभ लिएर अकूत सम्पत्ति कमाएको आरोप छ । हाल कपिलवस्तुका एसपी दानबहादुर कार्की पनि वरियतामा पहिलो अगाडि पर्नका लागि लागेका छन् । उनकी श्रीमती नवीना श्रीमानको बढुवाका लागि गृहमन्त्री खाँण पत्नी मन्जुसँग मन्त्रीनिवासमा दैनिक धाउने गरेकी छन् । कार्की सर्वेन्द्र खनाल आइजीपी हुँदा छायाँ आइजीपीको भूमिकामा थिए । कास्कीपछि कपिलवस्तुको एसपी पाउने भाग्यमानी हुन् कार्की । बौद्ध बृत्तमा डीएसपी हुँदादेखि असुलीमा विवादित भएका र रसुवामा प्रहरी प्रमुख हुँदा रक्तचन्दन तस्करीमा मुछिएका, कास्कीदेखि बाँकेसम्म जताततै बदनाम ओमबहादुर राना पनि एसएसपी बढुवाका लागि नेताहरुकोमा धाइरहेका छन् । रसुवामा रक्तचन्दन तस्करीमा मुछिएका सेनाका कर्णेलमाथि कोर्टमार्सल भयो, तर डीएसपी रानालाई भने जोगाइयो । र, एसपीमा बढुवा गरी एकपछि अर्को आकर्षक जिल्लाको इन्चार्ज बनाइयो । अहिले पनि राना एसएसपीमा वरियतामा माथि आउन नेताकोमा धाइरहेका छन् । बाँकेको एसपी हुँदा रानाले २०७८ वैशाखको तेस्रो साता हिरमिनियामा पक्राउ परेका काठ तस्कर निसार खाँसँग ठूलो रकम लेनदेन गरी छाडेको आरोप लागेको थियो । यो प्रकरण बाहिर आएपछि प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआइजी (हाल अवकाश) वसन्तकुमार लामाको संयोजकत्वमा छानबिन समिति नै बनेको थियो । जुन छानबिन समितिका लामालाई समेत उनले प्रभावमा पारी आफूअनुकूल प्रतिवेदन तयार गर्न लगाएको आरोप छ ।
सिद्धिविक्रम शाह काठमाडौं परिसरको मुद्दा शाखाको डीएसपी हुँदा घुस लिएको उजुरीपछि छानबिन समिति नै गठन गरी तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालले नसिहत नै दिएका थिए । उनी प्रबन्धमा हुँदा ठेकेदारहरुसँगको सेटिङदेखि रौतहटको एसपी हुँदा अनियमितता र घुमुवा परिचालन गरी लाभ लिने गरेको समाचार लेखेकै आधारमा पत्रकारलाई लागूऔषधमा फसाएकोमा विवादमा परेका थिए ।
एसएसपी बढुवाका दाबेदार उमाशंकर चतुर्वेदी पनि अर्का विवादमा परेका पात्र हुन् । स्व. खुमबहादुर खड्काले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति चतुर्वेदीको नाममा राखेको भनी समाचार नै सार्वजनिक भएको थियो । लोकेन्द्र श्रेष्ठ जनसेवा प्रहरी बृत्तमा हुँदा घुसकाण्डमा परी निलम्बनमा परेका थिए भने बागलुङ र मकवानपुरमा एसपीका रुपमा सरुवा भए पनि कमाण्ड नै गर्न असफल भएपछि केही महिनामै तानिएका थिए ।
प्रतिक्रिया दिनुहोस् !