४ कार्तिक,बारा । बारा जिल्लाको कलैयास्थित दर्वार चोक नजिक आज एक बहुला कुकुरको टोकाइबाट नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डे सहित ७२ जना स्थानीय घाइते भएका छन्।
बहुला कुकुरको आक्रमणबाट घाइते भएकामध्ये ५२ जनाको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ भने बाँकीको नजिकका क्लिनिकहरूमा उपचार भइरहेको छ।
बहुला कुकुरको नियन्त्रण बाहिर रहेको र लगातार मानिसहरूलाई टोक्दै हिँडेको स्थानीयले बताएका छन्। आक्रमणबाट घाइते हुनेहरूमा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष पाण्डे पनि रहेका छन्।
उनले दिएको जानकारीअनुसार, उनी मोटरसाइकलमा भरतचोक तर्फ जाँदै गर्दा कुकुरले लखेटेर टोकेको हो।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। कुकुर दक्षिण तर्फ लागेकोले सो क्षेत्रका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ।
स्थानीय प्रशासनलाई तत्काल बहुला कुकुरलाई नियन्त्रणमा लिई रेबिज लगायतका संक्रमणबाट बच्ने उपायहरू अपनाउन पीडित तथा स्थानीयहरूले माग गरेका छन्।
रेबिजको उच्च जोखिमलाई ध्यानमा राख्दै, टोकाईबाट घाइते भएका सबैलाई अविलम्ब रेबिजविरुद्धको खोप (एआरभी) लगाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। स्थानीय निकायहरूले घटनाको गम्भीरतालाई मनन गर्दै कुकुर नियन्त्रण र घाइतेहरूको उपचारमा थप पहल गर्नुपर्ने देखिएको छ।









प्रतिक्रिया दिनुहोस् !