३० असाेज,जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक समारोहबीच शपथ ग्रहण गराएकी हुन् ।
लोसपा नेता सोनललाई जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पाँच दल र एक सिटको नागरिक उन्मुक्ति पार्टीसहित कूल ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरिएको थियो । उनी मधेश प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् ।
दुई ठूला दल बाहिर, ‘जोड घटाउ’ को सरकार
यसपटक मधेशमा सरकार गठन प्रक्रियामा प्रदेशसभाका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसलाई बाहिर राखिएको छ । यी दुई प्रमुख दललाई पाखा लगाएर बनेको पाँच दलीय गठबन्धनले सरकारको स्थायित्व र राजनीतिक इमान्दारीमाथि प्रश्न उठेको छ । प्रदेशको अस्थिर राजनीतिक इतिहासमा यो गठबन्धन ‘स्वार्थको जोड घटाउ’ मा आधारित रहेको भन्दै आलोचना भइरहेको छ ।
स्थायित्व र जनविश्वासको चुनौती
मुख्यमन्त्री सोनलको नेतृत्वमा बनेको यो सरकारसामु प्रमुख चुनौती भनेको राजनीतिक स्थायित्व कायम गर्दै विकास र सुशासनमा जनताको विश्वास पुनस्र्थापना गर्नु हो । प्रदेश सरकार गठन भएको छोटो अवधिमै चौथो मुख्यमन्त्री नियुक्त हुनुले मधेशको राजनीतिक अस्थिरतालाई झल्काउँछ ।
राजनीतिक विश्लेषकहरू यस प्रकारको ‘स्वार्थमा आधारित गठबन्धन’ ले जनअपेक्षा पूरा गर्न नसक्ने र विकास तथा जनतालाई राहत दिने कुरामा विश्वास दिलाउन कठिन हुने बताउँछन् । अबको समयले यो सरकार कति स्थिर रहन्छ र जनताका आधारभूत आवश्यकता पूरा गर्न कति सफल हुन्छ भन्ने देखाउनेछ । मुख्यमन्त्री सोनलले भने आफ्नो पहिलो प्राथमिकतामा ‘स्थायी सरकार र प्रदेशको आर्थिक सुदृढीकरण’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस् !