२९ असाेज,काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलहरूसँग छलफल सुरु गरेका छन्। प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले अहिले प्रमुख दलसँग बैठक गरिरहेका छन् ।
सभामुख घिमिरेले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका नेता सहभागी छन्। सभामुखले प्रमुख १० दललाई बैठकमा बोलाएका थिए।
प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेलले संसद् सदस्य नरहेकी सुशीला कार्कीलाई भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटन दुवै असंवैधानिक रहेको भन्दै कानून व्यवसायीहरूले मंगलबार सर्वोच्चमा १० वटा रिट दायर गरेका छन्।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट परिसकेको छ। संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन्। अब अगाडि बढ्ने योजना बनाउन उनले बैठक बोलाएको बताइएको छ।
बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरूसँग राय माग्ने बताइएको छ। बुधबार दलसँग छलफल गर्न लागेका सभामुखले बिहीबार कानुन व्यवसायीहरूसँग परामर्श गर्ने भएका छन्।









प्रतिक्रिया दिनुहोस् !