२९ असाेज,जनकपुरधाम । मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपाबीच सरकार गठन गर्ने सहमति जुटेको हो ।
पाँच दलका नेताहरुको हिजो राति र आज बिहान बसेको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको एक सहभागी नेताले जानकारी दिए । यद्यपि, मन्त्रालयको भागबन्डा भने टुङ्ग्याउन बाँकी रहेको छ ।
जनमत पार्टीका मुख्यमन्त्री सतिश कुमार सिंहले हालै राजीनामा दिएपछि मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । सोही आह्वानअनुसार पाँच दलका नेताहरू ५६ जना सांसदको हस्ताक्षरसहित लोसपा नेता सोनललाई मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा जाँदैछन् ।
लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा बसेको उक्त बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका दलका नेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जैलुनराइन र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोबिन्द बहादुर न्यौपाने सहभागी थिए ।
मधेस प्रदेशसभा १०७ सदस्यीय रहेको छ र सरकार बनाउनका लागि ५४ सिट आवश्यक पर्छ । सरकार गठन गर्न सहमति गरेका पाँच दलको कूल सिट संख्या ५७ पुग्छ । दलगत रूपमा जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९ तथा नेकपा एकीकृत समाजवादीको ७ सिट रहेको छ । यी सबै सिट जोड्दा ५७ हुन्छ, तर लोसपाका एकजना सांसद निलम्बित रहेका छन् ।









प्रतिक्रिया दिनुहोस् !