२९ असोज,काठमाण्डाैं । भारतको राजस्थानमा मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको यात्रुहरूले भरिएको एक बसमा अचानक आगलागी हुँदा कम्तीमा २० जना यात्रुको मृत्यु भएको छ ।
थैयत रोडमा रहेको युद्ध संग्रहालय नजिकै बसको पछाडिबाट धुवाँ निस्किएपछि सम्पूर्ण बस आगोको ज्वालामा परिणत भएको थियो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा महिला र बालबालिकासहित २० जना यात्रु जिउँदै जलेका हुन् । दुर्घटनामा १५ जना गम्भीर रूपमा जलेका थिए, जसमध्ये धेरैजसो ५० देखि ७० प्रतिशतसम्म जलेका कारण उनीहरूलाई थप उपचारका लागि जोधपुर रिफर गरिएको छ । बसमा कुल ५७ जना यात्रु सवार थिए ।
नयाँ रहेको खुलेको उक्त बस अक्टोबर १ मा मात्र दर्ता भएको थियो र यो सम्भवतः यसको तेस्रो यात्रा थियो। ब्याट्रीमा सर्ट सर्किट भएको कारणले एसीको तार जलेर आगलागी भएको अनुमान गरिएको छ ।
एसी ग्यासले सुसज्जित नयाँ बसमा पर्दा र ज्वलनशील रेजिन सिटहरूमा आगो लागेपछि आगो झनै तीव्र भएको थियो । ज्यान बचाउन धेरै यात्रुहरूले झ्यालबाट हाम फालेका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार घटना भएको ४५ देखि ५० मिनेटसम्म पनि दमकल घटनास्थलमा पुग्न सकेको थिएन । सेनालाई जानकारी गराएपछि जेसीबी घटनास्थलमा ल्याइयो र फसेका यात्रुहरूको उद्धारका लागि बसको गेट फोडिएको थियो ।
मृतकहरूको पहिचान गर्न डीएनए परीक्षण गरिने भएको छ । राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा गएराति घटनास्थलमा पुगेर घटनालाई ‘अत्यन्तै हृदयविदारक’ भन्दै प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !