२८ असाेज,बारा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। आफ्नै दल जनमत पार्टीसहित गठबन्धनका प्रमुख दलहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई पार्टीले गत भदौ ३१ गते सरकारबाट समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको थियो। यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलले पनि समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।
हाल १०७ सदस्यीय मधेश प्रदेशसभामा १०५ जना सदस्य कायम छन्। सिंहलाई विश्वासको मत पाउनका लागि ५३ भन्दा बढी सांसदको समर्थन आवश्यक पर्नेछ। नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीसहितको गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि ५८ सांसदको समर्थनसहित दाबी पेस गरिसकेको छ।
मुख्यमन्त्री सिंहले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नेछन्। प्रदेशको राजनीतिमा आजको विश्वासको मत निर्णायक मोडमा रहेको छ।









प्रतिक्रिया दिनुहोस् !