२७ असाेज,बारा । मधेश प्रदेशका निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले श्रमशोषण र दमनको अन्त्यको माग गर्दै ८ सूत्रीय मागसहित कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका छन्।
धनुषा जिल्लाका निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले पत्रकार सम्मेलन गरी आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको बताएका छन्न ।
उनीहरूले नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी करारकर्मीलाई हटाएर लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने, परिवारलाई निःशुल्क उपचार, बिदा र भत्ता सुविधा, हरेक वर्ष १० प्रतिशत तलब वृद्धि तथा निजी र सरकारी अस्पतालमा समान विज्ञापन प्रणालीको माग राखेका छन्।
मन्त्रालयबाट पटक-पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएको र जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँदा पनि ठोस पहल नभएको गुनासो गर्दै स्वास्थ्यकर्मी नरेश अधिकारीले माग पूरा नभए कात्तिक १६ गते आइतबारदेखि मधेश प्रदेशभरका स्वास्थ्यकर्मीहरूले अस्पताल खाली गरी आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्,।
जसबाट बिरामी सेवामा समस्या आएमा सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने उनीहरूको भनाइ छ।









प्रतिक्रिया दिनुहोस् !