२६ असाेज,काठमाडौं। डा.सिके राउत नेतृत्वको जनमत पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। पार्टीका केन्द्रीय सदस्यहरूले ‘जनस्वराज’ नामको नयाँ पार्टी दर्ता गर्नका लागि आइतबार निर्वाचन आयोगमा हस्ताक्षरसहित निवेदन पेश गरेका हुन्।
आयोग उच्च स्रोतका अनुसार जनमत पार्टीका कुल ५२ जना केन्द्रीय सदस्यमध्ये २० प्रतिशतभन्दा बढी सदस्यहरूले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरेका छन्। यद्यपि, निवेदनमा हस्ताक्षर गर्नेहरूको सनाखत (पहचान पुष्टि) गर्ने काम भने बाँकी रहेको आयोगले जनाएको छ।
नयाँ दल दर्ताको निवेदन दिनेमा जनमत पार्टीका उपाध्यक्ष दिपक साह र तत्कालिन कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पनि रहेका छन्। तत्कालिन कोषाध्यक्ष यादवले नेपाल पत्रकारसंग कुरा गर्दै २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरू लिएर नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिइएको पुष्टि गरे। यद्यपि, उनले पार्टीको प्रस्तावित नाम ‘जनस्वराज’ र निर्वाचन चिन्हबारे भने छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए।
यता, जनमत पार्टीका एक नेताले भने उपाध्यक्ष साह र कोषाध्यक्ष यादव दुबै जनालाई पार्टीले यसअघि नै कारवाही गरिसकेको दाबी गरेका छन्। कारवाही गरिसकेका नेताहरूले कसरी नयाँ दल दर्ताको निवेदन दिन सके भन्ने प्रश्नमा, ती नेताले पार्टीले कारवाही गरे पनि त्यसको जानकारी निर्वाचन आयोगलाई गराउन बाँकी रहेको बताए।
राजनीतिक दल सम्बन्धी ऐन अनुसार कुनै दल फुटाउनका लागि केन्द्रीय समिति र संसदीय दल दुबैमा कम्तिमा ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्छ। तर, नयाँ दल दर्ताको लागि भने २० प्रतिशत सदस्यको हस्ताक्षर आवश्यक पर्छ। जनमत पार्टीका केन्द्रीय सदस्यहरूले नयाँ दल ‘जनस्वराज’ दर्ताका लागि निवेदन दिएका हुन्। आयोगले अब यसको आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।









प्रतिक्रिया दिनुहोस् !