२६ असाेज,बारा । रौतहटको फतुवा विजयपुर नगरपालिका–२ सितलपुरमा ऐलानी जग्गाको विषयलाई लिएर दुई समूहबीच भएको झडपमा एक जनाको ज्यान गएको छ।
शंकर साह बनिया र कपिलदेव यादव पक्षबीच भएको हानाहानमा लाठी, फोर्सा र बाँस काट्ने खुखुरी जस्ता हतियार प्रयोग भएको थियो।
झडपमा ६० वर्षीय शंकर साह बनिया गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बारास्थित एल.एस. न्युरो अस्पताल पठाइएकोमा दिउँसो करिब १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ।
सोही झडपमा कपिलदेव यादवकी श्रीमती ४० वर्षीया मिना देवी पनि घाइते भएकी छिन
घटनामा संलग्न फतुवा विजयपुर नगरपालिका–२ सितलपुरका विनोद भनिने हरिदेव यादव, ब्रहमदेव यादव र सुरेश यादव गरी तीन जना फरार रहेको प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए।
मृतक शंकर साह बनियाका नाति पप्पु कुमार बनियाले हरिदेव यादवले बाँस काट्ने खुखुरी प्रहार गरी आफ्नो हजुरबुबाको हत्या गरेको दाबी गरेका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया, रौतहटबाट प्रहरी निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा थप प्रहरी टोली खटाइएको र घटनाको अनुसन्धान तथा फरार अभियुक्तहरूको खोजी भइरहेको प्रहरी निरीक्षक महतोले बताएका छन्।









प्रतिक्रिया दिनुहोस् !